काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि पुनरोत्थानका कार्यक्रम ल्याउने बताएका छन् ।
उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटनमा केन्द्रित कार्यक्रम ल्याउने बताए ।
कोरोनाका कारण नेपालमा मात्रै नभएर विश्वभरको पर्यटन व्यवसायमा प्रभाव परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने , “अहिले नेपालको मात्र नभएर विश्वभरि नै कोरोनाका कारण पर्यटन क्षेत्रमा असर गरेको छ, यसलाई उकास्नका लागि सरकारले आन्तरिक तथा बाह्य उडान खोल्न शुरु गरेको छ ।”
अहिले ४० प्रतिशत आन्तरिक उडान शुरु भइसकेको उनको भनाइ थियो । सन् २०२१ मा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि काम भइरहेको उनले जानकारी दिए ।
“यस क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गरेको छ”, उनले भने । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्र बैंकले बनाएको मापदण्डअनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्नेछन् ।”
फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टी विभाजन नहुने बताए ।
उनले भने, “काङ्ग्रेस र नेकपासहितका दलसमेत मिलेर जानुपर्ने समयमा पार्टी विभाजन हुनु हुँदैन ।”
पार्टीभित्र सबैको सम्मानजनक सहभागिताबाट पार्टी विभाजन रोकिने उल्लेख गर्दै उनले आफूहरुले पार्टीलाई मिलाएर लैजानका लागि नेतृत्वलाई आग्रह गरिरहेको बताए ।