पोखरा । युएनडिपीको सहयोगमा पोखरा २४ कास्कीकोटमा अपाङ्गमैत्री पदमार्ग मर्मत तथा सरसफाई कार्यक्रमको शुभारम्भ गरिएको छ ।
पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सम्झौताअनुसार पर्यटन क्षेत्रमा कार्यरत कमजोर आर्थिक अवस्थाका श्रमिकको जीवनयापनमा सहयोग पुग्ने हेतुले कार्यक्रम सञ्चालन गरिएकाे हाे । ५ लाख ७१ हजार २ सय रुपैयाँ बजेटअनुसारको याेजना कार्यान्वयन हुने छ ।
कार्यक्रमका अध्यक्ष एवं कास्कीकोट पर्यटन विकास समितिका संयोजक उदय सुवेदीले कास्कीकोटको पर्यकटीय विकास र एसियाको एकमात्र अपाङ्गमैत्री पदयात्रा भएकोले यसकाे संरक्षण र प्रबर्द्धनमा कार्यक्रमबाट थप सहयाेग पुग्ने बताए । युएनडिपीको सहयोगलाई कास्कीकोटको पर्यटकीय विकासका लागि छनोट गरेकोमा नेपाल पर्यटन बोर्डलाई उनले धन्यवाद व्यक्त गरे ।
कार्यक्रमबाट पर्यटन मजुदरलाई केहीदिन भएपनि रोजगारी मिलेको कार्यक्रमका प्रमुख अतिथि वडा २४ का अध्यक्ष ओम सुवेदीले बताए ।
कास्कीकोटमा पर्यटन मजदुरहरुको संख्या अधिक रहेकोले उनीहरुलाई थप रोजगारमूलक क्षेत्रमा काम दिन व्यवस्थित योजना बनाइने अध्यक्ष सुवेदीले सुनाए ।
कास्कीकोटमा पर्यटकीय पदमार्ग विकास र त्यसको प्रचारप्रसार गरी बजारीकरण गर्न टान पोखराले सहयोग गर्ने कार्यबहाक अध्यक्ष धर्मराज पन्थीले बताए ।