विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको छ । अमेरिकी संचार माध्यमहरुले वाइडेन कुकुरसंग खेल्ने क्रममा घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको उल्लेख गरेका छन् ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको हो । बाइडेनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । रासस/एपी