काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न नेता पौडेललाई बोलाइएको थियो । तर नेकपाले गरेको विकास निर्माणका काममा काँग्रेसले जस लिन खोजेको भन्दै स्थानीय युवा संघका कार्यकर्ताहरुले विरोध जनाएका थिए ।
विरोध भएपश्चात युवासंघ र काँग्रेस कार्यकर्ताहरुको झडप हुन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय तनहुँले सो क्षेत्रमा निषेधाज्ञा जारि गरेको थियो । निषेधाज्ञा कायम रहँदा पनि नेता पौडेल कार्यकर्तासहित उद्घाटनस्थल पुगेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।
निषेधाज्ञा तोड्न खोजेकै कारण पौडेल लगायत नेपाली काँग्रेसका अन्य कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सीनाले मेनसमाचारलाई जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्रमा बुधबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारि गरिएको थियो ।