काठमाडौँ । निषेधाज्ञा तोड्न खोजेपछि पक्राउ परेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तीन घण्टा प्रहरी नियन्त्रणमा बसेपछि पौडेल रिहा भएका हुन् ।
बुधबार दिउँसो तनहुको व्यास नगरपालिकास्थित वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगृेका पौडेल निषेधाज्ञा तोड्न खोज्दा पक्राउ परेका थिए । पुल उद्घाटनको विषयमा सत्तारुढ दल नेकपा र विपक्षी नेपाली काँग्रेसका कार्यकर्ताबिच विरोध भएपछि प्रहरीले सम्भावित झडपको मध्यनजर गर्दै निषेधाज्ञा जारि गरेको थियो ।
निषेधाज्ञा जारि गरेपनि नेता पौडेल भने पुल उद्घाटन गर्नका लागि कार्यकर्तासहित उद्घाटनस्थल पुगेका थिए । कानुनको उल्लंघन गर्न खोजेको भन्दै प्रहरीले पौडेलसहित देश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत अन्य कार्यकर्ताहरु पक्राउ गरेको थियो ।
प्रहरीले पौडेल लगायतका नेता कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा परेपछि स्थानीय कार्यकर्ताहरुले सरकारको विरोध गर्दै प्रदर्शन समेत गरेका थिए । उनिहरुले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध समेत गरेका थिए । पौडेल पक्राउ परे लगत्तै काँग्रेस सभापती शेर बहादुर देउवाले सरकारको यस किसिमको कदम बिरुद्ध देशव्यापी विरोध प्रदर्शनमा उत्रने समेत चेतावनी दिएका थिए ।
रिहा भएलगत्तै पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।