काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नेपाली काँग्रेसलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् । तनहुँमा पुल उद्घाटन गर्न पु्गेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको चौतर्फी विरोध भएको छ । तीन घण्टा प्रहरी नियन्त्रणमा बिताएर रिहा भएका पौडेलले सरकारको यस किसिमको कदम निन्दनिय भएको बताएका छन् ।
दिउँसो २ बजे प्रहरी नियन्त्रणमा परेका पौडेल तीन घण्टापछि साँझ ५ बजे रिहा भएका थिए । प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।त्यसपछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाएका हुन् ।
“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, कार्यकर्तामाझ सम्वोधन गर्दै नेता पौडेलले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” सरकारले प्रहरी शक्तिको दुरुपयोग गरि काँग्रेसलाई निषेध गर्न खोजेको पौडेलको दावि छ ।
थप कार्यक्रम सार्वजनिक गरिने
घटनापश्चात नेपाली काङ्ग्रेस तनहुँले आज भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गरे ।
आज अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो ।
दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो । रासस