परिचय
रुकुम प्रेम हो । रुकुम प्रेमको अद्दितीय नमूना हो । कथा पौराणिककालबाट सुरु हुन्छ । महाभारतका प्रमुख पात्र राधा कृष्ण र रुक्मिणीको प्रेम कथाबाट रुकुमको इतिहास जोडिएको पाइन्छ । बिधर्भ देशको राजा भिस्मकको छोरी रुक्मिणीलाई राक्षसि पुतनाले आकासमा लगेर एउटा सुन्दर कमलको फुल भएको सरोवरमा खसाली दिएकी थिइन । उनै रुक्मिणीलाई वृषभानु र उनकी पत्नीले संरक्षण गरे र उनको नाम राधा राखे । पछि यो घटना थाहा भएपछि राधा पुन रुक्मिणी नै भनेर चिनिन थालिन । त्यसैले प्रेम र विवाहको अनुपम इतिहास बोकेको यो रुकुममा उक्त कमल दह र उनै प्रेमकी प्रतिमूर्ति राधा वा रुक्मिणीको मन्दिर पनि रहेको ले यो जिल्ला रुकुम भनेर भनिन थालियो । कमलदह प्रेम र त्यागकि प्रतिमूर्ति देवी राधारानीको प्रकटस्थान हो । हाम्रो रुकुमकोटमा उनै रुक्मीणी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो । प्रेमको अनुभूति गर्न रुकुम नै जानु पर्छ । यो प्रेम यहाँको पर्यटनमा झल्किनु पर्दछ ।

पुथा हिमाल रुकुम पूर्व । तस्बिर स्राेत: हेमन्त राई
पौराणिक युगबाट एतिहासिक युगमा आइपुग्दा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिए । हामी रुकुमेली पिताम्बरी बनि दियौं । जिल्लाको ऐतिहासिक पृष्ठभूमीमा मध्यकालीन वाइसे राज्यहरू मध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरू पर्दथे । रुकुम जिल्ला खाम भाषीहरूको सांस्कृतिक पहिचान भएका बस्तीहरूको रमणीय, ऐतिहासिक र प्राकृतीक छटाले श्रृंगारिएको स्थल हो । इतिहास हेर्ने हो भने रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान पनि हो । पछि शाही राजाहरूको राज्य भयो । अझै पनि ती राजाहरूको दरबारका भग्नावशेषहरू रुकुम पुग्ने मानिसहरले देख्न सक्दछन भनेर के बि मसाल भन्नुहुन्छ ।
रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि पश्चिम नेपालमा बाईसे र मध्य नेपालमा चौबिसे राजाहरूले तीन सय वर्षसम्म राज्य चलाएका थिए । इतिहासमा मलय बर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । त्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको इतिहास छ । त्यसपछि बाईसे राजाहरूमा गजनीबम, जलालबम, जसबम, हुँदै जयतबमहरूले रुकुममा राज्य गरेका थिए । दरबारको झै झगडा र भाईहरूको बिच द्वन्द्व बढन थालेपछि जयत बमका छोराहरूका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोताम कोट र जाहारीकोटमा विभाजन हुन पुगेका इतिहास छ । यस्ता महत्वपूर्ण ऐतिहासिक सम्पदालाई पर्यटकीय प्रबर्द्धन परिचालन गर्नु स्थानीय सरकारको दायित्व हो ।

रुकुमको अत्यन्त मनमोहक कमल दह । तस्बिर स्राेत: अमरराज पुन ।
पञ्याती युगमा २०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमककोटले २०३० सालमा आफ्नो अस्तित्व गुमाएको थियो । पहिलेको सर्पकोट बराहक्षेत्रबाट, राजपरिवारको नामसँग जोडिएको शोभा हुँदै रुकुमकोट नामाकरण भएको रुकुमकोटबाट २०३० साल वैशाख २ गते तत्कालीन पञ्चायती व्यवस्थामा रुकुमको सदरमुकाम रातारात मुसीकोट सारिएको थियो।
सदरमुकाम सारेपछि रुकुमकोट पूर्वका जनताले सदरमुकाम रुकुमकोटमै राख्न गरेको संघर्षको इतिहास लामो छ। उत्तरमा सानी भेरी बगिरहेकी, अग्ला डाँडाले घेरिएका सानो समथल भूभाग र मध्य लोकमार्ग बीचबाटै क्रस हुन्छ । रुकुमकोटमा पूर्व राजा वीरेन्द्रकी बहिनी शोभा शाहीको विवाह भएकाले कुनै बेला यसलाई शोभा गाविस पनि भनिन्थ्यो ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो तालमा वर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचारप्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्।
स्थानीय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यहाँ नुहाउँदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुसार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ। यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाइने कमलमध्ये सबैभन्दा राम्रो कमल पाइन्छ।
प्राय चैत वैशाख महिनामा यस तालबाट कमल निकाल्ने गरिन्छ, जुनबाट अचार या तरकारी बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ।
रुकुमकोटको इतिहाँस एकदम महत्वपूर्ण तर रुकुमकोट सदरमुकामको लागि उपयुक्त छैन । सदरमुकाम वा राजधानी इतिहासलाई हेरेर होइन भविष्यलाई हेरेर निर्माण गरिन्छ । यस्ता महत्वपूर्ण स्थान पर्यटकीय व्यवस्थापन भित्र समावेश हुनुपर्दछ ।

पूर्वी रुकुमका सुन्दर नागीसहित सिस्ने र पुथा हिमाल । तस्बिर स्राेत: रेडियो पूर्वी रुकुम ।
यसपछि माओवादी युग सुरु भयाे । ठूलो क्रान्तिको चपेटामा पर्यो । धेरै सहिद भए । देशमा गणतान्त्रिक लोकतन्त्रको स्थापना भयो । प्रचण्ड, बाबुराम लगायत धेरै नेताहरु ठूलो पदमा आसिन हुन पुगे । रुकुमले के पायो ? हामी रुकुमेली सधैं दास भयौं । उल्टो हाम्रो एकतालाई दुई टुक्रा पारियो । हाम्रो अखण्ड रुकुम दुई टुक्रा पारियो । यो माओवादीकालको जघन्य अपराध हो । ५२ पोखरी ५३ टाकुरीको जिल्लाको इतिहास निर्मूल पारियो । यो इतिहास संरक्षण गर्नू आजको आवश्यकता हो । ५२ पोखरी र ५३ टाकुरी कुनकुन हुन् कसरी ती स्थानमा पुग्न सकिन्छ पैदल मार्गको रुट निर्धारण गर्नुपर्दछ ।
रुकुमकोट सिंगो रुकुमको सिंगो सदरमुकाम हो, हुनु पर्ने पनि हो तर अब जिल्ला दुई टुक्रा भैसकेको छ । सदरमुकाम सामान्यतया सबैलाई पायक पर्ने भौगोलिक रुपमा केन्द्रीय स्थानमा, कम उब्जनी हुने, वस्ती बसाउन सकिने उचित रमणीय स्थानमा बनाउनु पर्दछ । रुकुम पूर्व जिल्लामा भुमे, सिस्ने, र पुथा उत्तरगंगा गरी ३ वटा स्थानीय सरकार र ३१ वटा वडा रहेका छन् । मगर बाहुल्य क्षेत्र पूर्वी रोल्पा र पूर्वी रूकुममा असार पहिलो साता हप्तौदिनसम्म धुमधामले भूमे पर्व मनाइन्छ। यो क्षेत्रको ठूलो चाड नै भूमे हो। यो भूमे पर्व कसरि मनाइन्छ ? जात्रा कस्ता कस्ता हुन्छन ? खान पिन के के हुन्छन ? एउटा पर्यटकले यी सबै कुराको अनुभव गर्न सक्ने प्रणालीको विकास गर्नुपर्दछ ।
गोलखाडा गाउँ रुकुमपूर्व जिल्लामा रहेको पुथाउत्तरगंगा गाउँपालिका– १२ मा पर्छ। यसअघि उक्त गाउँ कोल गाविसमा पथ्र्यो। कोलगाउँदेखि गोलखाडा आधा घण्टाको पैदलमा पुग्न सकिन्छ। गोलखाडासम्म स्थानीय सडक पनि पुगेको छ र साना सवारी साधनहरू संचालनमा छन्।कोल हाल रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्रसमेत रहेका कारण सदरमुकाम र केन्द्र पनि नजिकै छन्। गोलखाडाबाट अर्को रुकुमपूर्वको चर्चित गाउँ राँसी पनि आधा घण्टाको पैदल दूरीमा पर्छ। मध्यपहाडी लोकमार्गमार्फत् काँक्रीमा पुगेपछि त्यहाँबाट रिकालेक काटेर क्युवाङ, कोल हुँदै त्यहाँ पुग्न सकिन्छ। कोल गाउँमा राम्रो मगर बस्ती छ। यसअघि गाउँ विकास समितिको कार्यालय नै कोल गाउँमा थियो। भौगोलिक रूपमा अतिसुन्दर र समथर बस्ती छ यो। हिजोआजको समयमा समथर जग्गामा मकै बाली उम्रिएको दृश्य पनि मनमोहक लाग्छ। कोलगाउँ (रुकुम) — कुनै बेला मुलुकमै तोरीको तेल पेल्ने कोलका लागि प्रसिद्ध थियो, यहाँको कोलगाउँ। त्यही प्रसिद्धिले गाविसको नामै राखियो- कोल । यस्ता उत्कृष्ट स्थलहरु पर्यटन विकासकोलागि महत्वपूर्ण आधार हुन् | यिनीहरुको व्यवस्थापन गर्न सके पुर्बी रुकुमको प्राकृतिक र सांस्कृतिक विकासले जीवन स्तर उच्च हुन सक्दछ | प्रकृति र संस्कृतिको विकास नै पर्यटकीय विकास हो |

समग्र रुकुम पूर्व र पश्चिम जसबाट गोलखाड़ा स्पस्ट देखिन्छ ।
पूर्वी रुकुम देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पूर्वी देशान्तरसम्म र अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म, साथै समुन्द्र सतहदेखि उचाईः ७२४६ मि. सम्म फैलिएको छ । जिल्लाको क्षेत्रफलः १६६३ वर्ग कि.मि. रहेको छ । हावापानीः समशितोष्ण/शितोष्ण पाइन्छ भने औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म र तापक्रमः ०.२ देखी ३४ सेल्सियस सम्म रहेको छ ।
चारैतिरको सिमानामा पूर्वः बाग्लुङ र म्याग्दी, पश्चिमः रुकुम(पश्चिम), उत्तरः डोल्पा, दक्षिणः रोल्पा रहेका छन् । यस जिल्लाको सदरमुकाम गोलखाडा तोकिएको छ । तर केही सुविधा निर्माण गरिएको छैन । पर्यटकीय दृष्टिकोण सहित प्राकृतिक र सांस्कृतिक शहर निर्माणको लागि गुरु योजना निर्माण गर्नु पर्दछ । जसरी देउखुरी उपत्यका लुम्बिनी प्रदेशको राजधानी बनाइदैछ त्यसैगरी गोलखाडालाई सुन्दर पर्यटकीय सदरमुकाम बनाउन सकिन्छ ।
यस जिल्लाका प्रमुख नदी र खोलाहरु सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि हुन् भने धार्मिक स्थलहरु वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट आदि हुन् ।
यसैगरी पर्यटकीय स्थलहरुमा पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि रहेका छन् ।
तरकारी तथा फलफुलहरुमा मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी, केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि पाइन्छ भने वन्यजन्तु तथा चराचुरुङ्गीहरुमा कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि रहेका छन् । यस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको उत्पादन तथा व्यवस्थापन गर्न पनि बजार केन्द्रमा हुनु आवस्यक छ । वनस्पति, जीवजन्तु, चराचुरुंगी तथा जडिबुटीको खानी पुर्बी रुकुम सांचै एक उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको जिल्ला हो ।
यसैगरि जडीबुटीहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो आदि रहेका छन् भने अन्नबालीहरुमा धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि रहेका छन् । यस्तै खनिज पदार्थहरुमा, तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि रहेका छन् भन्नेकुरा स्थानीय प्रशासन कार्यालय पुर्बी रुकुमको वेव साइटमा राखिएको छ । तर गोलखाड़ामा सदरमुकाम नबनाएर अर्कै ठाउँ अर्थात् दुई प्रदेश र जिल्लाहरूको सिमाना छुट्याउने साँधको रुपमा रहेको रुकुमकोटमा अस्थायी सदरमुकाम राख्नु पूर्णतः अव्यावहारिक र अवैज्ञानिक मात्र होइन क्षेत्रीय र तथाकथित उच्चजातीय अहंकार पनि हो ।
यसैले अहिलेको सरकारको निर्णय मगर जातिको संस्कृति, इतिहास र भौगोलिक दृष्टिले गोलखाडा बाङ मात्र तीनवटै गाउँपालिकाको पायक र केन्द्रमा पर्नेगरी सरकारले गरेको यो निर्णय वैज्ञानिक र व्यवहारिक रहेको छ । अब पर्यटकीय दृष्टिकोणले पर्यटन विकास गुरु योजना निर्माण गर्नु पर्दछ ।

पूर्वी रुकुमको जनजीवन । तस्बिर स्राेत: जीवन केसी ।
रुकुमकोट नेपाल सरकारले बनाउन खोजेको १०० वटा स्मार्ट सिटी मध्ये एउटा महत्वपुर्ण स्थान हो । यसले कर्णाली र लुम्बिनीलाई जोड्ने काम गर्दछ । रुकुमकोटको इतिहास ठूलो महत्वपूर्ण छ । पौराणिककाल देखि नै यो क्षेत्र महत्वपूर्ण मानिएको छ । यो क्षेत्र तुलनात्मक रुपले विकसित क्षेत्र पनि हो । तर विकासको प्रतिफल कम्जोर र पिछडीएको बर्गलाई प्रार्थमिक रुपमा हुनु पर्दछ । यो सहरलाई यसै गरि विकास गर्दै सदरमुकाम गोलखाडा उपयुक्त छ ।
सिंगो रुकुम दिए रुकुमकोट सदरमुकाम जायज हो नत्र गोल खाडा नै हुनु पर्दछ तर केहि राजनैतिक भद्र भलाद्मीले भोटको राजनीति गरेर जनता लडाउने काम गरेको प्रस्ट देखिन्छ । सदरमुकामलाई लिएर रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको थियो । रुकुमकोटमा सदरमुकाम राख्दा आधा फाइदा पश्चिम रुकुमलाई हुन्छ भने पुर्बी रुकुमका उत्तर पूर्वका जनताको आर्थिक आर्थिक अवस्था झन् झन् नाजुक हुँदै जाने निश्चित छ |
यस क्षेत्रको समस्यालाई सम्बोधन गर्नु त कता हो कता, उल्टै यो क्षेत्रलाई केही पूर्वाग्रही नेतृत्वले आफ्नो भोट बैंकलाई सुरक्षित गर्न पुनःसंरचना आयोगलाई दबाब दिएर असमान, अव्यवहारिक र अवैज्ञानिक ढंगले गोलमटोल गरी ३१,९६४ जनसंख्या रहेको सातगाउँ खोला र पोखरा, शोभा (रुकुमकोट), स्यालापाखा, महत र चुनबाङसहित गरी जम्मा ५३,०१८ जनसंख्या र भूगोलको साझा केन्द्र एवं अति दुर्गमको प्रतिनिधित्व गर्ने तीनवटै गाउँपालिकाको समग्र केन्द्र पर्ने ठाउँमा सदरमुकाम नबनाई कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा अवास्थित् रुकुमकोटमा सदरमुकाम बनाउनु केहि प्रभावशाली नेताको भोटको राजनीति मात्र हो भन्ने स्थानीयबासिको गुनासो छ । द्वन्द्वले पर्यटन विकास गर्दैन । पर्यटन नै पूर्वी रुकुमको भविष्य हो ।
रुकुम पूर्व हिमाली जिल्ला भएकाले यहाँका अधिकांश क्षेत्रमा हिउँ पर्ने गर्दछ। यस जिल्लामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका गरी तीन स्थानीय छन्। तीन वटै स्थानीय तहका अधिकांश क्षेत्रमा हिमपात हुने गर्दछ। रुकुम पुर्वमा यस वर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। जसले गर्दा वर्षातको समयमा जोखिम मोलेर आवत–जावत गरिरहेका विद्यार्थी तथा अन्य स्थानीयका लागि सजिलो भएको छ। त्यसैले अब गोलखाडामा सदरमुकाम राख्नु अत्यन्त उपयुक्त हुन्छ |हिमाली जिल्ला हुनुको कारण नै रुकुमलाई पूर्व र पश्चिम गरि दुई भागमा विभाजन गरिएको हो ।
हिमाली जिल्लाको अनुभूति भनेको हिमालको अनुभूति हुनु हो । सदरमुकाम रुकुमकोट हुँदा हिमाली पनको महसुस हुँदैन बरु उल्टो राजा महाराजाको समयको जस्तो राजनैतिक अनुभूति हुन्छ किन भने यो क्षेत्र राजकुमारी शोभाको प्रभावित क्षेत्र पनि हो । हिमाली जिल्लाको उपयोग रुकुमकोटबाट हुनै सक्दैन त्यसैले गोलखाडा उपयुक्त स्थान हो । पर्यटनले नै पूर्वी र पश्चिमी रुकुमको भावनात्मक एकतामा बल पुर्याउने देखिन्छ ।
रूकुम पूर्व नेपालको ७७औं जिल्ला हो । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेको छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकोट, वि.स. २०७४ साल देखि नेपाल सरकारको राज्य पुन:सरचनाको क्रममा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेको हो । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् । जुन संघीयता, लोकतन्त्र र विकासको भावना विपरित छ । सबै कार्यालयहरु केन्द्रीय स्थलमा तोकिएको गोलखाडा मै स्थापना गरिनु पर्दथ्यो । यद्यपी समय बाँकी छ । पर्यटन हाम्रो विकासको मूल आधार हो ।

डा. बिपी बडाल
हिमाली जिल्ला भनेको खास गरि रुकुम पूर्व भनेको खाम मगर जातिको अत्यन्तै बाक्लो बसोबास भएको स्थान हो पश्चिम दक्षिणको सिमाना रुकुमकोट खस आर्यन समुदायको बाहुल्यता भएको र पश्चिम रुकुमको सिमानासँग जोडिएको भूभाग हो । यहाँ केन्द्र बन्दा खाम मगरहरुको दुख झन् बढ्छ र फाइदा उच्च बर्गीय खस आर्यनलाई मात्र हुन्छ । त्यसैले यो अबैज्ञानिक छ र साथै रुकुम दुई भाग लगाउनुको कुनै औचित्य पनि देखिंदैन । यो संघिय गणतन्त्रको मूल्य र मान्यताको पनि विरुद्ध देखिन्छ । कहिले बाग्लुंग कहिले सल्यान सदरमुकाम भयो तर पुथा हिमालका जनता सधैं अन्धकारमै बस्नु पर्यो । त्यसैले सदरमुकाम गोलखाडामै हुनु पर्छ भन्ने तर्क राख्नु हुन्छ स्थानीय ध्रुबकुमार पुन तथा जीवन केसी । यो हिमाली भेगका जनताको विकासको लागी जस्तोसुकै आन्दोलन गर्न पनि पछी नपर्ने जागरुकता पनि प्रस्तुत गर्नु भयो । वहाँहरुको विचार विकासको दृष्टिकोणले उपयुक्त देखिन्छ । मगरहरुको पहिचान खाम भाषा र संस्कृति हो यसको विकास गर्न खाम मगर खुशी हुनुको विकल्प छैन । उनीहरुको खुशी भनेको पुर्बी रुकुमको सदरमुकाम गोलखाडा मै स्थापना गर्नु हो । आशा छ सर्वाच्व अदालतले वैज्ञानिक निर्णय गर्ने छ । रुकुमेली भावना र आतिथ्यको सम्मान हुने छ ।
जिल्लाको जनसंख्या अध्यान गर्दा महिलाः २९४८७ जना, पुरुषः २४८४५ जना गरि जम्माः ५३०१८ जना, परिवार संख्याः ११२०२, औसत परिवार आकारः ६ , जनघनत्वः ७४ प्रति कि.मि., जनसंख्या वृद्धिदरः २.०६ प्रतिशत रहेको छ। भु–उपयोगको अवस्था भने कुल क्षेत्रफलः ११३५२३ हे. मध्ये खेतियोग्य क्षेत्रफलः २०२६५ हे., पानीले ओगटेको क्षेत्रफलः ३४३ हे., चरन क्षेत्रः ५६५५ हे., वनजङ्गल क्षेत्रफलः ५९७४८ हे., र हिउले ओगटेको क्षेत्रफलः २४७६ हे. रहेको छ । शैक्षिक अवस्था अध्यन गर्दा कुल साक्षरताः ६२.०९ प्रतिशत, पुरुषः ७१.२३ प्रतिशत, महिलाः ५४ प्रतिशत रहेको छ । भुमे, सिस्ने, र पुथा उत्तरगंगा गरि जम्मा तिन वटामात्र स्थानीय सरकार रहेका छन् । पूर्वी रुकुममा सिस्ने, भुमे र पुथा उत्तरगंगा गरी तीन गाउँपालिका पर्छन् । सिस्नेमा मिश्रित जातिको बसोबास छ । बाँकी दुई भुमे र पुथा उत्तरगंगा मगर बाहुल्य गाउँपालिका हुन् । यी तीन गाउँपालिकामा साबिकका १६ गाविस पर्छन् ।
०६८ को जनगणनाअनुसार यो नयाँ जिल्लाको जनसंख्या ५१ हजार छ। जसरि लुम्बिनी प्रदेशले प्रादेशिक राजधानी देउखुरी उपत्यकामा व्यवस्थापन गर्यो त्यस्तै यो भर्जिन ल्याण्ड गोलखाड़ा पुर्बी रुकुमको राजधानी अथवा सदरमुकाम बन्न उत्तिकै सान्दर्भिक र आवस्यक देखिन्छ । विकास भबिस्यको लागि हो । सबै जनताको समानुपातिक विकासको लागि गोलखाड़ा उपयुक्त हो । गोलाखाड़ा समानुपातिक सांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न सकिन्छ ।
यातायातको दृष्टिकोण मुसिकोट, सोलाबाङगबाट रुकुमकोट सम्म र पूर्बतिरको काक्री र लुकुम हुदै तकसेरा सम्म हिउदको समयमा यातायातका साधन सञ्चालनमा आएका छन । यो बाहेक निर्माणधिन मध्य पहाडी लोकमार्गमा पनि यातायात सञ्चालन हुन लागेको छ । काक्रीबाट कोल हुँदै गोल्खाडा पुगिन्छ । रुकुम पुर्ब जिल्लामा भएका सिस्ने हिमाल, रन्मा मैकोटको पुथा हिमाल, डोल्पासंग जोडिएका हिमाली श्रृखलाहरू, रङगिन ताल तलैयाहरू, लोटसल्ला जस्ता बहुमूल्य उपयोगी जडिबुटी बनस्पतिहरू साथै, लालपाटन, बुकिपाटन, लेकाली बनहरू, नावर, कस्तुरी, रेडपण्डा, डाफे, मूनाल जस्ता हिमाली वन्यजन्तु र पंन्छी भएको ढोरपाटन जस्ता प्राकृतकि सम्पदा सम्म पुग्ने सडकको सुधार हुन जरुरी देखिनछ । काकरी देखि उत्तर कोल हुँदै सजिलै सँग गोलखाडा पुग्न सकिन्छ । टकशेरा रुकुम जिल्लाकै प्रमुख संस्कृतिक बस्ति हो | खाम मगरहरुको इतिहाँस र संस्कृतिको मूल थलो हो । संस्कृतिक पर्यटनमा यो गाउँको अत्यन्तै ठुलो महत्वपूर्ण भूमिका हुन सक्दछ । टकसेराबाट सानी भेरी तरेर गोल्खाडा पुग्न सकिन्छ ।
गोलखाडा पुर्बी रुकुमको केन्द्रीय भाग रांशी, जाँघ, र कोल गाविस साबिक पुथा उत्तरगंगा गाउँपालिकाको वार्ड न १२मा पर्दछ । पुथा हिमालको काखमा अवस्थित यो स्थान गोल पोल्न, बिक्रि वितरण गर्न अत्यन्तै प्रख्यात स्थल हो । मंगसिर देखि फागुन सम्म हल्का हिउँ पर्ने अत्यन्तै रमणीय क्षेत्र हो । जंगलका पुराना काठका मुढा जलाएर गोल (कोइला) बनाउने र विक्री गरिने स्थान हाल सदरमुकाम उन्मुख छ । २०७३ सालमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जीले यस क्षेत्रलाई सदरमुकाम घोसणा गरि सक्नु भएको छ । रुकुमकोट क्षेत्रका राज्यको सुबिधा उपयोग गरिरहेका केहि कुलीन खस आर्यन दाजु भाइले यसको विरुद्द सर्वच्च्व अदालतमा मुद्धा दायर गर्नु भएको छ तर सर्वाच्च्वको निर्णय विधि सम्मत हुनेछ । पूर्वी रुकुम पर्यटकीय जिल्लाको रुपमा विकसित हुने छ ।
पूर्वी रुकुम नेपालको कान्छो जिल्ला हुनुको कारण पनि सधै पछाडी परिरहनु हो । टुक्रेर भएपनि आफ्नो सम्वृद्धि र विकासमा निरन्तर खटि रहने हँसिला मेहेनती रुकुमेलीलाई सम्मान गर्नै पर्छ । आफ्नो पहिचान र भुमि चिनेका बास्तविक भूमिपुत्र रुकुमेली नै हुन् । प्रेम र अतिथ्यताका खानी नै हुन् । सही नेतृत्व र आर्थिक विकासका पूर्वाधारको कमीले सधैं चपेटामा परेको रुकुमले अब पर्यटकीय जिल्लाको नामले प्रसिद्धी कमाउँदै छ । पूर्वी रुकुम जानै पर्ने एउटा महत्वपूर्ण पर्यटकीय जिल्ला हो ।
हाल आएर जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्ला भित्रने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ। घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने सबैलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा अवस्थित सबै सरकारी कार्यालय गोलखाडाबाट संचालन हुन् सके केन्द्रीय रुपमै सबैको आवतजावत हुने, कृषि, व्यापार, शिक्षा र स्वास्थ्यको समानुपातिक विकास हुने हुँदा सदरमुकाम गोलखाडा नै उपयुक्त देखिन्छ । रुकुमकोटमा सदरमुकाम बन्दा विकासको आधा प्रतिफल रुकुम पश्चिमलाई पर्ने र पिछडिएको उत्तरी खाम मगरहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अझै पछाडि पर्ने निश्चित देखिन्छ । त्यसैले समयमै द्वन्द निवारण हुनु पर्दछ । सुन्दर पूर्वी रुकुम विश्वकै सुन्दर पर्यटकीय जिल्लाको रुपमा विकसित भएको हुने छ । धन्यवाद !