काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक वक्तव्यमार्फत स्वाँरको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्। पिता हर्कजङ्गबहादुर र माता कौशिल्यादेवी स्वाँरको सन्ततिका रुपमा विसं १९८४ मङ्सिर ९ गते जन्मिएका स्वाँरले विसं २००६ मा सर्वमान्य नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए । स्वर्गीय स्वाँरका चार छोरी र दुई छोरा छन् । रासस