काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रचण्ड र ओली बिच भेटवार्ता भएको छ । शनिबार बोलाइएको सचिवालय वैठकअघि दुई अध्यक्ष वान टु वान छलफलमा जुटेका हुन् ।
दुई अध्यक्षबिच कात्तिक २५ गतेयता कुनैपनि संवाद भएको थिएन । २५ दिन लामो संवादहिनताको अन्त्य गर्दै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड एक्लाएक्लै भेटेका हुन् । वैठकअघि दुई अध्यक्षको भेटलाई अन्य सचिवालय सदस्यहरुले सकारात्मक रुपमा लिएका छन् ।
बुधबार बसेको बैठक शनिबार बस्ने गरि स्थगित भएको थियो । वैठकमा दुई अध्यक्ष प्रचण्ड र ओलीले बेग्लाबेग्लै सार्वजनिक गरेका राजनीतिक प्रतिवेदनमाथि छलफ गर्ने कार्यसुची रहेको छ । ओली र उनि समर्थित नेताहरुले प्रचण्डद्धारा प्रस्तुत प्रतिवेदन राजनीतिक प्रतिवेदन नभई आरोपपत्र भएको र त्यसमाथि छलफल हुन नसक्ने अडान लिँदै आएका छन् ।
प्रचण्डको प्रतिवेदन सार्वजनिक भएपछि पार्टीमा देखिएको विवादले चरम रुप लिएको थियो । पार्टीभित्र चरम अन्तरविरोध देखिन थालेपछि राष्ट्रपति विद्यादेवि भण्डारीले समेत दुई अध्यक्षलाई सम्झाउने कोशिस गरेकी थिईन् । पार्टी भित्रका दोस्रो पुस्ताका नेताहरुले दुई अध्यक्षलाई मिलेर अगाडी बढ्न र पार्टी एकतामा खलल नपुर्याउन दवाब दिएका थिए ।
पार्टीभित्र देखिएका असन्तुष्टिहरुको सचिवालय वैठकबाट समाधान खोजिने भएतापनी ओलीमाथि वैठकबाट भाग्ने गरेको आरोप छ । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीले वैठकमा सहभागी नहुने र एकल निर्णय गर्नुले संकट पैदा गरेको बताउँदै आएका छन् ।