काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् । मंगलबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय भइरहेका संविधानविपरितका गतिविधिहरु सह्य नहुने बताएका छन् ।
उनले लामो संघर्ष र इतिहासबाट प्राप्त भएको गणतन्त्रको रक्षाका लागि सम्पुर्ण राजनीतिक दल एकठाउँमा जुट्नुपर्ने बताएका छन् । यसका लागि सबै शक्तिहरु एकढिक्का भएर अगाडी बढ्न प्रधानमन्त्रीले आह्वान गरेका हुन् । देशभर राजावादीको आन्दोलन चकिएसँगै यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत,नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ ।