हिजो आज हाम्रो समाजमा हिंसा बारम्बार प्रदर्शन भइरहेको छ । लैङ्गिक हिंसा विरुद्धको यस १६ दिने अभियानमा यसको विषयमा बढी चर्चा परिचर्चा चलेको छ । सबैजसो मानिसहरु यसको प्रभावमा परेका छन् । यसको नियन्त्रणको कुरा गर्दा यसलाई चिन्न जरुरी छ ।
हिंसा र त्यसले पार्ने प्रभाव
मानिसहरु बीचको तनाव सिर्जना गर्ने असहमतीबाट द्वन्द्वको सुरुवात हुन्छ । विभिन्न परिस्थिती, विचार र पृष्ठभूमी भएका व्यक्तिहरुसँगै रहँदा यो स्वभाविक रुपले देखा पर्दछ । यसरी देखा पर्ने द्वन्द्वमा, हामी कसरी व्यवहार गर्दछौं वा कस्तो प्रतिक्रिया गर्दछौं, त्यसै अनुसारको नतिजा प्राप्त हुन्छ । हामी संयमित भएर अरुलाई पीडा नहुने गरी प्रतिक्रिया व्यक्त गर्दा प्राप्त हुने नतिजा सकारात्मक हुन्छ । असंयमित भएर प्रतिक्रिया व्यक्त गर्दा हिंसा हुन्छ । टेडो आँखाले हेर्ने, गाली गर्ने, हप्काउने, झोक्किने, अपहेलना गर्ने, तिरस्कार गर्ने, कुटपिट गर्ने जस्ता प्रतिक्रियाहरु हिंसा हुन् । त्यस्तै भेदभाव पूर्ण व्यवहार गर्ने, नराम्रो कामको मतियार बन्ने, जबरजस्ती गर्ने, चोरी चाकरी गर्ने जस्ता व्यवहार अपराधिक वा हिंसाजन्य व्यवहार नै हुन् । आफैलाई घृणा गर्ने, आत्मग्लानी गर्ने, आफूलाई सधैँ कमजोर वा खराब ठान्ने पनि आफै प्रतिको हिंसा हो ।
मानिसले आफ्नै रिस, लोभ, इष्र्याजस्ता संवेगमाथि नियन्त्रण गर्न नसकेर हिंसा हुने गर्दछ । कति मानिसले प्रतिशोध गर्न हिंसाको बाटो अपनाउँछन् । परिवारबाट असल माया ममता नपाएर, संस्कार सभ्यता र असल शिक्षाको अवसरबाट वञ्चित भएर, देखासिकी वा नक्कलबाट पनि यो व्यवहार प्रदर्शन हुन्छ । भेदभाव, छुवाछुत, देवकी प्रथा, पापीलाई नष्ट गर्नुपर्ने प्रचलन, बली चढाउने, पैसा मात्र ठूलो देख्ने, अमानवीय प्रवृत्तिले हिंसालाई प्रोत्साहन दिइरहेका छन् । समाजमा हिंसा बढ्दै गएर हत्या, बलात्कार, भष्ट्रचार बढेको छ । मानिसहरु स्वार्थी, व्यभिचारी भएका छन् । नैतिकता, मानवता, इमानदारीता, प्रकृती प्रेम हराउँदै गएको छ । मानिस रोग ब्याध, मानसिक आघातले आक्रान्त भएकाले आत्महत्या बढेको छ । समाजमा असुरक्षा बढेकाले युवाहरुमा दिग्दारी, विद्रोहीभाव, अशान्ती बढ्नुको साथै त्यसको प्रचारप्रसार भएकाले समाज विकृत हुँदै गएको आभास हुन्छ । यस्ता व्यक्तिको संगत गर्दा, हिंसा पढ्दा, सुन्दा यसले हामीलाई पनि त्यस्तै व्यवहार गर्ने बनाउला । होसियार हुनुपर्ने देखिन्छ ।
शान्तिको बाटो:
सानो काम सम्पन्न हुँदा पनि खुसी हुने, आफूसँग जे छ, त्यसैमा रमाउने । इमानपूर्वक व्यवसाय गर्ने र त्यसैमा खुसी हुने, सबैलाई आदर सम्मान गर्ने, अरुको परिस्थितीको ख्याल गर्ने, प्रत्येक क्षण आनन्दको अनुभूती गर्ने, सादा जीवन शैली अपनाउने, प्रकृतीप्रति एकाकार हुने, स्थानीय अर्थतन्त्रबाट समृद्धि खोज्ने जस्ता बानी बसाल्दा शान्ती प्राप्त हुन्छ । माहात्मा गान्धीका अनुसार “शान्तीसम्म पुग्ने कुनै बाटो छैन, शान्ती नै अवलम्वन गर्ने बाटो हो ।” अर्थात शान्ती एउटा अभ्यास गरिरहने प्रकृया हो । थिन नाच हान् का अनुसार “दैनिक जीवनको हरेक पक्षमा खुसीको अनुभूती गर्ने प्रत्येक क्षण/चरण नै शान्ती हो ।” यसैले हाम्रो वास्तविक अन्तरहृदयको भावना, करुणा, धैर्य, माया, क्षमा र सद्भावको आधारमा प्रतिकृया व्यक्त गर्दा शान्ती प्राप्त हुन्छ । जीवनलाई एक उत्सवको रुपमा लिने, एक अर्काप्रति निर्भरताको भावना राख्ने, अरुलाई सेवा गर्दा प्राप्त हुने आनन्दको अनुभूती गर्ने, समाज रुपान्तरणको निम्ती कृयाशिल रहने, फरक क्षमता भएका व्यक्तिहरुको सम्मान गर्ने, सबै किसिमका मानव संस्कृतको आदर गर्ने, प्रकृतिको संरक्षण गर्ने, आत्म निर्भरता उन्मुख क्रियाकलापहरुमा निरन्तर संलग्न हुने गर्दा यीनले हाम्रो शान्तीको बाटो कोर्दछन् । आफैप्रति र समाजप्रति इमान्दार हुन प्रेरित गर्दछन् । आहार, कर्म, व्यायाम र आरामको सन्तुलनले शरीरलाई स्वस्थ राख्दछ । समाजमा रहेका व्यक्तिहरुले यस्ता अभ्यास गर्दै जाँदा समाजमा न्याय, समानता, सत्यप्रतिको निष्ठा, इमान्दारिता, सहिष्णुता, सद्भाव र समृद्धि प्राप्त हुन्छ ।
हिंसा नियन्त्रणका उपाय:
हिंसा नियन्त्रण वा शान्ती प्राप्त गर्न तपाईं हामी सबैले निम्न विषयमा अभ्यास गरौं, सहकार्य गरौं ।
-आफ्ना असल कुराको खोजी गरौं । अरुका राम्रा कुरामा ध्यान दिऔं । कसैलाई नहोच्याउने वा अति बखान नगरौं
-आफूमा आउने नकरात्मक तरगंहरुलाई रोकौं । शरीर र मनलाई शान्त राखौं ।
-सरलताका साथ इमानपूर्वक बोलौं । गल्ती होला कि भन्ने डर नराखौं ।
-आफ्नै अनुभवका आधारमा बोलौं ।
-आफू जस्तै र आफू भन्दा भिन्न खालका व्यक्तिहरुलाई मित्र बनाऔं ।
-सहयोग र पृष्ठपोषणका निम्ती आग्रह गरौं । अरुलाई पनि प्रदान गरौं ।
-यदि कसैसँग विवाद (द्वन्द्व) छ भने आफू भित्रका संवेगहरु नियन्त्रण गर्दै ऊ सँग सिधैँ संवाद गरौं ।
-आवश्यक जति प्रयोग गरौं र बाँकी आवश्यक पर्नेलाई दिऔं ।
-छलफल गरेर निर्णय निकालौं र कार्यान्वयन गरौं ।
-हरेक समुदाय, भूमि र प्रकृतीको सम्मान गरौं ।
-आफ्नो हेरचाह, अरुको सम्मान, प्रतिक्रिया दिनु अगाडि सोच्ने, अहिंसात्मक बाटो रोज्ने र आशावादी हुने जस्ता जीवनका रुपान्तरणकारी शक्तिसँग इमानपूर्वक जिऔं ।
अन्त्यमा,
समाजमा हिंसा पनि छन् । शान्तीका प्रकृया पनि छन् । विगतलाई आदर गर्दै वर्तमानमा खुसी रहँदा भविष्यप्रति आशावादी हुन सकिन्छ । आफू र अरुप्रति प्रदर्शन गरिने सकारात्मक भावबाट हिंसा नियन्त्रण हुन्छ । सद्भाव र असल सम्बन्धले शान्ती प्राप्त हुन्छ । यसैले हाम्रो निरन्तर अभ्यासले आफू भित्रका द्वन्द्व र हिंसाजन्य बानीलाई शान्तीमा रुपान्तरण गर्न सक्दछौं । आफूभित्र शान्ती स्थापना गरेर नै समाज र राष्ट्रमा शान्तीको पूर्नवहाली गर्न सक्छौं ।
लेखक शान्ती संस्कृती निर्माण कार्यक्रमका अन्तर्राष्ट्रिय सहजकर्ता हुन् ।
rampokhara2011@gmail.com