काठमाडौँ । सरकारबाट प्रतिवन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–१ का शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मंगलबार राति एक विज्ञप्ती जारि गर्दै प्रतिवन्धित नेकपाले शिक्षक हत्याको जिम्मेवारी लिएको हो ।
विप्लव नेकपाको मेची कोसी ब्युरोले विज्ञप्ती जारि गर्दै प्रतिकारको क्रममा शिक्षक राजेन्द्र श्रेष्ठको मृत्यु भएको स्पष्ट पारेको छ । श्रेष्ठले सुराकी गरेको र पटकपटक सम्झाउँदा पनि नमानेको कारण मंगलबार बिहान पुनः सम्झाउने क्रममा शिक्षक श्रेष्ठ आक्रमणमा उत्रिएपछि प्रतिकार गर्दा उनको मृत्यु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ब्यूरो वैठकमा पनि पटकपटक प्रहरी ल्याएर दमन गराएको विज्ञप्तीमा उल्लेख छ । ‘ निज राजेन्द्र श्रेष्ठले २०७७ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दम गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए’ , विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘ २०७७ साउन देखि नै पटक–पटक आफ्नो गतिविधि रोक्न, आफुलाई सच्याउन जाँदा अतियार लिएर आक्रमण गर्न आइलागेकोले प्रतिकारका क्रममा निजको मृत्यु भएको जानकारी गराइन्छ ।’
शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको थियो । बिहान ६ बजेतिर पाँच जनाको संख्यामा आएको एक समुहले उनलाई अपहरण शैलीमा जंगलमा लगि गोली हानेर हत्या गरेको थियो । प्रहरीले खोजी गर्ने क्रममा उनको घरबाट करिब ३० मिनेट परको जंगलमा शव भेटाएको थियो ।