काठमाडौँ । संसदको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी तत्काल कार्यन्वयन नगर्न निर्देशन दिएको हो । यससँगै डिआइजी विश्वराज पोखरेलको एआइजी पद धरापमा परेको छ ।
गत मंसिर ३ गते सरकारले गृहमन्त्री र प्रहरी महानिरिक्षकलाई समेत थाहै नदिई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) को दरबन्दी थप्ने निर्णय गरेको थियो ।
दरबन्दी थप भएलगत्तै उक्त पदमा हालका डिआइजी विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस समेत भइसकेको छ । यस्तो अवस्थामा संसदको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी कार्यान्वयनमा रोक लगाएको हो ।
समितिको निर्देशनपछि गृहमन्त्री थापाले उक्त निर्देशन कार्यान्वयनका लागि सम्वन्धित निकायमा पुर्याउने बताएका छन् । यससँगै डिआइजी विश्वराज पोखरेलाई एआइजी हुँदै प्रहरी महानिरिक्षक (आइजिपी) बनाउने सरकारको योजनामा ब्रेक लागेको छ
सरकारले प्रहरी प्रशासनलाई आफ्नो हातमा लिनका लागि एकतर्फी रुपमा एआइजी पदको पुनः दरबन्दी सिर्जना गर्दै विश्वराज पोखरेललाई सिफारिस गरेको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । समितिको निर्देशन सँगै बढुवा सिफारिस भएका डिआइजी पोखरेलको एआइजी पद धरापममा परेको हो ।