काठमाडौँ । सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । बिहीबार सरकारलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सरकारी कर्मचारीहरुलाई मात्र नभएर निजी क्षेत्रका कर्मचारीहरुलाई समेत हप्तामा दुईदिन बिदा दिन प्रोत्साहन गर्न सिफारिस गरेको छ ।
हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कतौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिल गायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ । जसले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत सकारात्मक प्रभाव पार्ने अध्ययनका क्रममा देखिएको समितिले बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी रहेका छन् ।