२० मंसिर २०७९, मंगलबार । स्पेनलाई पराजित गर्दै मोरक्को कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनमाथि ३–० को जित हासिल गर्याे ।
एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो । त्यसपछि कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।
मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।
मोरक्कोले आजै मध्यराति हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।