पोखरा । जन्मदिनको अवसर पारेर विद्या डाँगी राउतको नामबाट कास्कीको एक विद्यालयलाई नगद सहयोग गरिएको छ । कुशुम कृष्ण आयुर्वेद फर्मा र नेचर केयर होम प्रालिकी सञ्चालकसमेत रहेकी डाँगीकोतर्फबाट पोखरा २२ चिसापानी, खाल्सेस्थित कालिका आधारभूत विद्यालयलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम दिइएको हो ।
उनको जन्मदिनको अवसर पारेर उनका श्रीमान् तथा कुशुम कृष्ण आयुर्वेद फर्माका प्रबन्धक कृष्ण राउत र नेचर केयर होम प्रालि आयुर्वेद अस्पतालले संयुक्त रुपमा उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर केसी र प्रध्यानाध्यापक भवानीप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् । राउतले २० हजार ५ सय ५५ र आयुर्वेद अस्पतालका अध्यक्ष केबी थापाले ५ हजार रुपैयाँ विद्यालयलाई नगद सहयोग गरे ।
जन्मदिनमा हुने फजुल खर्चका कार्यक्रमलाई निस्तेज गर्न सकारात्मक पहलको थालनी स्वरुप विद्यालयलाई सहयोग गरेको विद्याका श्रीमान् कृष्ण राउतले बताए । श्रीमती पोखरा बाहिर भएकाले उनको नामबाट सहयोग रकम विद्यालयका लागि उपलब्ध गराइएको राउतले जानकारी दिए ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य केशव पौडेलले जन्मोत्सवको अवसरमा विद्यालयलाई गरेको सहयोगले विद्यालय र अभिभावकसँग भावनात्मक सम्बन्ध बढाएको बताए ।
कार्यक्रममा रुपा गाउँपालिकाका कविराज निरीक्षक शरद आचार्य, प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का, कालिका आमा समूह र दोबाटे समूहका प्रतिनिधि, फुस्रे खोला युवा क्लबका अध्यक्ष सूर्यप्रसाद पौडेल, क्लबका सचिव युवराज केसी, कुलबहादुर खड्का र मिनराज बरालको उपस्थिती थियो । सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन मोहनबहादुर खड्काले गरेका हुन् ।
उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । अंग्रेजी माध्यममा पढाई हुने उक्त विद्यालयमा ८० विद्यार्थी छन् ।