पोखरा । अनलाइन इ-कर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ । डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्देश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धिको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गरे।
‘किसानका उत्पादनहरुलाई बजारीकरण गर्दा आर्थिक समृद्धिको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्नेछ’, उनले भने ।
उनले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादित वस्तु पुग्ने र विचौलियाहरु नजोडिदाँ हुँदा किसानले उचित मुल्य पाउने बताए ।
मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य राखेको बताए । ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेको भनाइ छ ।
मार्ट प्रबन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी उत्पादनहरु उपलब्ध छन् । अनलाइनबाटै पैसा तिर्न सकिने गरी ग्राहकले www.dokomart.com.np लगइन गरेर सामान खरिद गर्न सक्नेछन् ।