एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।
पछिल्लो तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणबाट १ लाख ८० हजार ४११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको तयहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको कुल ६८ लाख ३४ हजार ९६५ पुगेको छ ।ब्राजिलका स्वास्थ्य अधिकारीहरुले देशमा कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् ।
सरकारले लकडाउनलाई निकै कडाइका साथ लागु गरेको भए पनि संक्रमण घट्न नसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । रासस