काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरेका छन् । पार्टीका दिवंगत केन्द्रिय सदस्य कमानसिंह लामा सँगको कारोबारको विषयमा विवादित बनेपछि स्थायी कमिटी बैठकमै अध्यक्ष दाहालले नारायणकाजीको बचाउ गरेका हुन् ।
अध्यक्ष दाहालले लामाको निधनबाट शोकाकुल र दुखित भएको घडीमा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादलाई पार्टी प्रवक्तलाई मुछेर अनावश्यक प्रचार गरिन खोजिएको बताएका छन् । उनले पार्टीका अन्य नेताहरुलाई त्यस्तो प्रचार नगर्न र प्रचारमा नलाग्न अनुरोध समेत गरेका छन् ।
नारायणकाजी श्रेष्ठको बिषयमा केन्द्रिय कमिटी बैठकमा सामान्य छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफुले सम्बन्धित व्यक्तिलाई राखेर छलफल गर्दा प्रवक्त श्रेष्ठले मिल्नुस भन्नेबाहेकका अरु कुरा नगरेको पाएको बताएका छन् ।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली भने यस बिषयमा मौन नै रहे ।
नेकपाका केन्द्रिय सदस्य तथा पुर्वसांसद कमानसिंह लामाको निधन भएपछि नारायणकाजी श्रेष्ठ र कमानसिंह लामा विवाद गरिरहेको अडियो र भिडियो सार्वजनिक भएको थियो । त्यसो त प्राण त्याग्नुअघि लामाले फेसबुकमा निकै लामो स्टाटस समेत लेखेका थिए । उनको स्टाटसमा आफ्नै पार्टीको नेतामाथि आक्रोश ब्यक्त गरिएको थियो । सो आक्रोश अप्रत्यक्ष रुपमा नारायणकाजी प्रति लक्षित रहेको समेत आँकलन गरिएको छ ।
नारायणकाजी श्रेष्ठले भने आफुलाई विवादमा ल्याउनका लागि सुनियोजित ढंगबाट अडियो र भिडियो बाहिर ल्याएको बताउँदै आएका छन् । उनले भिडियो आफुले पनि हेरेको तथा सुनेको र त्यसमा त्यस्तो अकल्पनीय केही नभेटिएको पनि बताएका छन् ।