काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार सरकारको विरोधमा देशव्यापी प्रदर्शनमा उत्रिँदै छ । सरकारलाई सडक र सदनबाट एकसाथ दबाव पैदा गर्नका लागि काँग्रेस आन्दोलनमा उत्रिएको हो । काँग्रेसका केन्द्रिय नेताहरु आन्दोलनको नेतृत्व गर्नका लागि गृह जिल्ला पुगिसकेका छन् ।
नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लाबाट एकसाथ आन्दोलनको घोषणा गर्दै छ । आ–आफ्नो जिल्लाको नेतृत्व गर्नका लागि केही केन्द्रिय नेताहरु हिजो नै पुगिसकेका छन् भने केही नेताहरु सोमबार बिहानै पुगेका छन् । आन्दोलनका लागि काँग्रेस केन्द्रिय समितिले नारा समेत तय गरिसकेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल – जिन्दावाद जिन्दावाद, नेपाली काँग्रेस–जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दावाद, तनहुँमा भएको दुर्व्यवहार – अपमान र अत्याचार र बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार’ भनेर काँग्रेस प्रदर्शनमा घन्किने छ ।
यस्तै ‘चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार, अति भो अति भो – मुलुककै छवि क्षति भो, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन – सत्ताको लडाई लाज छैन ? नेपाली काँग्रेस जिन्दावाद – लोकतान्त्रिक समाजवाद जिन्दावाद’ भन्ने नारा लगाउन काँग्रेस केन्द्रले भनेको छ ।
काँग्रेसका सभापती शेरबहादुर देउवाले हेटौँडाको आन्दोलनको सम्बोधन गर्ने भएका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँमा सम्वोधन गर्ने भएका छन् ।
यस्तै उपसभापति विमलेन्द्र निधि भक्तपुरको विरोधसभामा सहभागी हुनेछन् भने महामन्त्री शशांक कोइरालाले विराटनगर तथा कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध प्रदर्शनमा सहभागी हुने छिन् ।
सहमहामन्त्री प्रकाशशरण महत झापा र पूर्वउपसभापति तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले काभ्रेको नेतृत्व गर्दैछन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन् भने पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी पोखरा रामशरण महत चितवनको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।