रेम बिक
काठमाण्डौ, २५ पुस । उमेरले ८० वर्ष पुगेपनि कुमार बस्नेतको जोश हेर्ने हो भने कुनै १८ वर्षे लक्काजवान भन्दा कम छैन। वजनदार आवाजसहित फरासिलो हिसाबले हाँसखेल गर्दै बोल्ने बस्नेत आफ्नो गीतहरुजस्तै रसिक लाग्छन् ।
काठमाण्डौको पुसको चिसो मौसममा संयोगले जुरेको भेटमा कुमार बस्नेतले आफ्ना जीवनका केही रोचक किस्साहरु सुनाए । अनि निश्फिक्रि हाँसे । उनको व्यक्तित्व हेर्दै लाग्छ, मानिस खुशी हुनुपर्छ अनि मात्रै लामो जिवन बाँच्छ ।
भेट भएलगत्तै बस्नेतलाई चियाको लागि अनुरोध भयो । चियावाला दाईलाई बस्नेतले प्वाक्कै भने-‘चिनी मस्त दबाएर हाल्नु ल दुधवाला चियामा । ८० वर्ष पुगेपनि मलाई सुगर लागेको छैन ।’ र, उनी फेरी आफ्नै स्टाइलमा मस्त हाँसे ।
बुढ्यौलीमा पनि मस्त अनि रसिक देखिने बस्नेत जवानीमा कस्तो हुँदा हुन्?
‘म सँधै यस्तै हो । वैंशमा त खुब रमाईलो गरिन्थ्यो । तर कोही कसैसँग बात लाग्ने काम चाँही कहिल्यै गरिएन ।’
‘छोरीभन्दा आमा तरुनी’, ‘लप्सीको गेडा चुसेर’, ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘भिमेश्वरको मेला’ जस्ता गीतका गायक तथा संकलक बस्नेतले गाएका अधिकांश गीतहरु सुन्ने हो भने उनी महिलाहरुप्रति सँधै ‘फ्लर्ट’ गर्ने प्रवृत्तिका हुन् कि झैँ लाग्छ । महिलाहरुलाई हेपेर यस्ता गीत बनाएका हुन् कि झैँ लाग्छ । शायद महिलाहरुसँग उनको अर्कै खालको दुश्मनी पो थियो कि झैँ लाग्छ । कारण, उनले यस्ता गीत गाउँथे, जुन गीतहरुमा महिलाहरुप्रति अजिवको कटाक्ष गरिएको हुन्थ्यो ।
किन यस्तो कुमार दाई ?
प्रश्न खस्न नपाउँदै बस्नेतले आफू महिलाहरुप्रति कहिल्यै नकारात्मक नरहेको प्रस्टाए । बरु आफूले सँधै महिलाहरुको पक्षमा गीतमार्फत बोल्दै आएको उनको दाबी छ । महिलाहरुप्रति आफ्नो सदैव सम्मान रहँदै आएको बताउने बस्नेतले आफ्ना केही त्यस्ता गीतहरुसँगको रमाईलो किस्साहरुलाई हामीसँग सुनाए ।
छोरीभन्दा आमा तरुनीः
बस्नेतको गायन जीवनमा सबैभन्दा बढि आलोचित बनेको गीत नै यही हो । छोरी भन्दा आमा तरुनी भन्ने गीत गाएपछि उनको चर्चासँगै आलोचनाको ‘ग्राफ’ पनि उत्तिकै उक्लियो । तत्कालिन समयमा रेडियो नेपालले यो गीतलाई ब्यान गर्यो । त्यो बेलाको संचारमन्त्री प्रदिप नेपालको ठाडो आदेशमा यो गीत रेडियो नेपालको ‘प्लेलिस्ट’बाट बाहिरिएको थियो। यद्यपि कुनै न कुनै माध्यमबाट गीत जनमानसमा पुग्यो र खुब चर्चित बन्यो ।
यो गीत निर्माणको किस्सा पनि गज्जबको छ । कुमार बस्नेत एउटा विवाहमा सहभागी हुनका लागि मलेखु पुगेका थिए । बाजा बजाउने समूहको शहनाईको धुनले उनलाई खिचिहाल्यो । बाजा समूहको छेऊमा पुगे । विवाहमा महिलाहरु श्रृंगारपटार गरेर आएका थिए । त्यही बीचमा महिलाहरुलाई लक्षित गर्दै एक जनाले प्वाक्कै बीचमा बोल्यो-‘कस्तो छोरी भन्दा आमा तरुनी भएर आएको ?’ यो शब्द बस्नेतको मनमा यसरी गड्यो कि उनको मनमा लाग्यो यो शब्दलाई पुरा गीत बनाउनुपर्छ । दिमागमा अडिईरहेको शब्दलाई मनमनै खेलाउँदै काठमाण्डौ फर्किंदा आधाउधी गीत तयार भैसकेको थियो । उनलाई स्वर्गीय राम थापाले पनि सहयोग गरे । यो गीतमा राम थापाले पनि ‘हो कि होईन हो हो’ भन्दै बस्नेतलाई गायनमा सघाएका छन् ।
गीतको शब्द बनाईवरी रेकर्ड पनि भयो । जब गीत बज्न थाल्यो, तब त्यो एकाएक भूसको आगोजसरी जताततै फैलियो । खासगरि महिलाहरुलाई पनि यो गीतले दुई फरक कित्तामा उभ्याईदियो । छोरी उमेर समूहका युवतीहरुले यो गीतलाई अत्याधिक रुचाए । तर आमा उमेर समूहका महिलाहरुले यो गीतप्रति आपत्ती जनाए । यही गीतका कारण सुर्खेतमा गीत प्रस्तुती दिन जाँदा त्यहाँका महिलाहरुले बिरोध जनाएका थिए । तर कार्यक्रममा गायन प्रस्तुतीकै लागि भैरहवा जाने क्रममा युवतीहरुको समूहले बस्नेतले ‘छोरीभन्दा आमा तरुनी’ गीत गाएको खण्डमा मात्रै ‘कन्सर्ट‘मा सहभागी हुने बताएका थिए । बस्नेत भन्छन्-‘यो गीत गाउँदा छोरीहरु रमाउँथे, आमाहरु रिसाउँथे ।’ ८० वर्षे बस्नेतप्रति अझै पनि यही गीतका कारण धेरै प्रशंसा र गाली मिल्दै आएको छ ।
उनकै छोरी तरुनीः
कुमार बस्नेतको अर्को चर्चित र विवादास्पद गीत हो ‘उनकै छोरी तरुनी’ । यो गीतमा चाँही बस्नेतले छोरीहरुप्रति कटाक्ष गरेका छन् । यतिसम्म कि उनले यो गीतमा युवतीलाई जर्सी गाईको बाच्छीसँग दाँजेका छन् ।
किन त नी यस्तो कुमार दाई ?
‘जर्सी गाईको बाच्छीसँग दाँज्नुको अर्थ हो युवती भर्भराउँदो छिन् । जिउडाल टमक्क भरिएको छ । एउटा जवान केटाले भर्भराउँदो युवतीलाई हेर्छ र उनलाई पाउन खोज्छ । म गलत छैन भने यो एउटा केटा मान्छेको प्राकृतिक स्वभाव हो ।’ बस्नेत भन्छन्-‘तर युवतीहरुलाई होच्याउनका लागि यो कुरा गीतमा समावेश गरेको भने पटक्कै होईन । बरु युवतीहरुको सुन्दरताको वयान गर्न मैले गीतको शब्दमा यो कुरालाई समावेश गरेको थिएँ । तर पछि युवतीहरुले यो कुरालाई फरक तरिकाले परिभाषित गरेर मलाई गाली पनि गरे ।’
कुमार आफू लोक गायक र संकलन भएको कारणले पनि तत्कालिन समयको लोकोक्तिलाई गीतमा टपक्कै टिपेर प्रस्तुत गरेको बताउँछन् । जनबोलीलाई गीतमार्फत भन्दा कतिपयलाई त्यो कुरा रुचेन अथवा पचेन, तर कुमार आफ्नो शैली परिवर्तन गर्नेवालामा थिएनन् । त्यही शैलीले त कुमारलाई दिनप्रतिदिन उँचाई दिईरहेको थियो ।
लप्सीको गेडा चुसेरः
यो गीतमा कुमारले एउटा गर्भवती महिलाको खानपान शैलीलाई रमाईलो तरिकाले प्रस्तुत गरेका छन् । यो गीत पनि विवादमा मुछियो । एउटी गर्भवती अवस्थाको महिलामा आएको परिवर्तनमाथि व्यगं कसेको भन्दै बस्नेतमाथि विभिन्न आरोपको बर्षात् भयो । तर बस्नेत दाबी गर्छन्-‘यो कुनै व्यंग थिएन । बरु त्यो अवस्थाको चित्रण गीतमार्फत गरिदिएर मैले महिलाहरुको गर्भावस्थाको परिवर्तनको बारेमा समाजलाई छर्लंग पारिदिएको हुँ ।’ उनी भन्छन्-‘महिलाहरु गर्भावस्थामा समेत घरायसी कामकाजमा लाग्नुपर्ने बाध्यता थियो । र, त्यस्तो अवस्थामा पनि उनीहरुले घरबाट खासै स्यहार पाउँदैनथिए । त्यसैले मैले त्यो अवस्थालाई गीतमार्फत उजागर गरेको हुँ । बरु मेरो गीतले त त्यस्तो अवस्थाको महिलालाई प्रशस्तै हेरचाहको खाँचो छ भन्ने सन्देश पो दिन खोजेको थिएँ ।’
गीत त चर्चित भयो । तैपनि महिलाहरुले यो गीतलाई लिएर बस्नेतसँग गुनासो गरे । जतिलाई बस्नेतले प्रत्यक्ष भेटे यो कुराको बारेमा उनले उनीहरुलाई बुझाए । तर नेपालभरिका महिलाहरुलाई भेटेर गीतको उद्देश्यको बारेमा बस्नेतले बुझाउन सक्ने स्थिती थिएन । तर अहिले आएर त्यो गीतको वास्तविक समिक्षा गर्ने हो भने आफूले त्यो गीतमार्फत महिलाहरुको समस्यालाई उजागर गरि उनीहरुप्रति सहानुभूति जगाउने उद्देश्य राखेको बस्नेत बताउँछन् ।
लैबरीलैः
लोक गीतसंगीतको संकलनमा नेपालको पुर्वदेखि पश्चिमसम्मका अधिकांश गाऊँहरुमा पुगेका बस्नेतले ‘लै बरी लै’ सार्वजनिक गर्दा पनि विवादबाट बच्न सकेनन् । यो गीतमा समावेश ‘आईमाईको भर गर्नु हुँदैन’ भन्ने शब्दप्रति धेरैले टिप्पणी गरे । तर वास्तवमा मैले तत्कालिन सामाजिक संरचनाअनुसार महिलाहरु ‘स्ट्रोंग’ बन्नुपर्छ भन्ने भावले यो गीत बनाएको थिएँ । युवतीहरुलाई सँधै बुवा, दाई वा भाईको भर हुनुपर्छ भन्ने मान्यता व्याप्त भएको बेला, युवतीहरु आफैँमा सक्षम बन्न सक्छन् भन्ने हेतुले यो गीत बनाएको थिएँ । तर यो गीतको पनि गलत अर्थ लाग्यो । कुमार विगत सम्झन्छन्-‘कुनै बुझेको व्यक्तिले त्यो बेलाको समाजलाई सम्झाई बुझाई गरेको शैलीमा यो गीत मैले तयार पारेको हुँ । तत्कालिन समयको उक्तिलाई मैले गीतमा बुनेको थिएँ । तर मलाई यो कुरामा चाहीँ साँच्चिकै बात् लागेको हो ।
बस्नेतले तत्कालिन समाजको सोँचलाई व्यंग गर्ने उद्देश्यले यो गीत बनाएका थिए । व्यंगात्मक शैलीमा बनेको गीतले धेरैजनालाई ‘सिरियस’ बनायो । बस्नेत सम्झन्छन्-‘तर मेरो वास्तविक उद्देश्य फरक थियो । म कहिल्यै पनि महिला विरोधी हुनै सक्दिन ।’
र, कुमार दाईकै बारेमाः
१ हजारको हाराहारीमा लोक गीत संलकन तथा गायन गरेका कुमार विक्रम सम्बत २००० साल असार २५ गते काठमाण्डौको कमलपोखरीमा जन्मिएका हुन् । बुवा गंगाबहादुर बस्नेत र आमा मनदेवी बस्नेतका माईला सन्तान कुमार १० वर्षको उमेरमै नाटककार बालकृष्ण समको नाटक अमरसिंहमा नृत्यकारमा रुपमा सहभागी भएका थिए ।
नृत्यमा पोख्त कुमार गायनमा अझै बढि पोख्त । त्यसैले त उनले आजको यो प्रशिद्धि गायनमार्फत नै बनाए । २०१५ सालमा रेडियो नेपालमा गीत गाउनका लागि निवेदन दिएका उनले तत्कालिन समयमा ईन्द्रेणी रेकर्डस् पछि रत्न रेकर्डिंगको तर्फबाट कलकत्ता पुगेर २ वटा गीत रेकर्ड गराए । तत्कालिन महारानी ईन्द्रराज्य लक्ष्मी देवी शाहको नामबाट संचालित ईन्द्रेणी रेकर्डस्को तर्फबाट उनले रेकर्ड गराएको पहिलो गीत हो ‘रिमझिम रिमझिम पानी पर्ला’।
नृत्य गुरुबा भैरवबहादुर थापा, महाकवी लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार भीमनिधी तिवारी धर्मराज थापा, नातिकाजी, नारायण गोपाल जस्ता व्यक्तित्वहरुसँग उनको अन्तरंग सम्बन्ध रह्यो ।
दिल्लीमा भएको बस्नेतको प्रस्तुती देखेर तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले उनको प्रशंसा गर्दै धाप मारेका थिए । राणाकालिन प्रधानमन्त्री मोहनशमशेरदेखि राज त्रिभुवन, महेन्द्र र विरेन्द्रको पनि उनी प्रिय गायक थिए । नेपाली लोक गीत संगीत र सँस्कृतिको कुरा गर्ने हो भने कुमार बस्नेत एउटा जिउँदो ईतिहास हुन् ।
यतिको खोज गर्ने व्यक्ति पनि हुन् कुमार बस्नेत। कुनैबेला हिमालमा यतिको खोजी गर्न पनि कुमार कम्मर कसेर लागेका हुन् । तर जब उनलाई साँच्चै यतिको चिन्ता हुन थाल्यो, उनले यतिको खोजी गर्न छाडिदिए । ‘उसको खोजी गरेर अरु कसैलाई त्यसको बारेमा जानकारी दिँदा यतिकै अस्तित्वमा संकट उत्पन्न हुन सक्ने सम्भावना देखेपछि मैले यो खोजलाई स्थगित गरेको थिएँ ।’ कुमार भन्छन्-‘कोही कसैको घर भत्काएर मलाई ख्याती बनाउनु थिएन ।’ यतिको खोजीमा नजिकसम्म पुगेर पनि आफूलाई यस्तो आत्मबोध भएपछि त्यसको खोजीको कामलाई पूर्णविराम लगाएको कुमार बताउँछन् ।
शिकार खेल्न रुचाउने कुमार बस्नेतले जंगली जनावरको शिकार गरे वा गरेनन्, त्यो चाँही गर्भमै राखे । तर जवानीमा उनले थुप्रै युवतीहरुको मनको शिकार भने खेले । तर बात नलाग्ने गरि ।
अहिले त उनका दाँवलीहरु धेरैजसो स्वर्गे भैसके ।
बस्नेत भन्छन्-‘समयले मलाई अलिक बढि बँचायो । तर मर्ने त मर्ने नै हो ।‘ उनले पछिल्लो आफ्नो दाँवली जयनन्द लामालाई सम्झे । जयनन्द केही समय अगाडि मात्रै स्वर्गे भए । ‘अब त मेरै पालो हो जस्तो लाग्छ ।‘ बस्नेतले यसो भनिरहँदा पनि उनको अनुहारमा कुनै दुख छैन । ‘तर भाईहरुले यो कुराकानीलाई राम्रोसँग अर्काईभ गरेर चाँही राख्नु है । म मरेपनि काम लाग्छ ।‘ बस्नेतले थपे ।
मैले भने-‘दाई तपाई कहिल्यै नमर्ने मान्छे हो । तपाईले गरेको कर्मले तपाईलाई सँधै जिवित बनाईराख्नेछ ।’