काठमाडौं । रौतहटको श्रीराम सुगर मिलले शुक्रबारदेखि उखु किसानको बक्यौता रकम भुक्तानीको थालनी गर्ने भएको छ । बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् ।
समितिमा बोल्दै अध्यक्ष अग्रवालले किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार)देखि नै किसानको खातामा पठाउन थाल्ने बताए ।
किसानको भुक्तानी दिन बाँकी प्रमुख ५ उद्योगहरु मध्य श्रीराम सुगर मिलले सबै भन्दा बढी ३५ करोड रुपैयाँ दिन बाँकी रहेको छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।
उखु किसानहरु बक्यौता रकम असुल गरिदिन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले हरेक दिन माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।