काठमाडौँ । काठमाडौँ उपत्यका सवारी साधनमा लगाईएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । बिहीबार सरोकारवाला निकाय र यातायात व्यवसायीहरुबीच भएको छलफलले भोलिदेखि यातायातमा जोर–बिजोर प्रणाली हटाइने निर्णय गरिएको हो ।
छलफलले सवारी साधनमा जोर बिजोर प्रणाली कायम गराउँदा झनै भीड बढेकोकारण हटाउने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।
व्यवसायीहरुले जोरबिजोर प्रणाली उल्लंघन गर्ने निर्णय गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यलयमा सरोकारवाला निकायसहित विभिन्न यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधि सहित बैठक बसेको थियो ।
शुक्रबारदेखि सार्वजनिक तथा नीजि सबै किसिमका सवारी साधनमा जोर बिजोर प्रणाली हटाइने तर तोकिएको मापदण्ड भने पुरा गर्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताएका छन् ।