काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ । बुधबार अध्यादेश फिर्ता लिन सहमत भएतापनी त्यसको कार्यान्वयन नहुँदै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि पार्टी भित्र र बाहिर पनि तरंग ल्याएको हो ।
यसबारेमा छलफल गर्नका लागि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार जाने भएका छन् । स्रोतका अनुसार बालुवाटारमा संवैधानिक परिषद्को बैठक हुनुअघि प्रचण्डले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । भेटमा उनले अध्यादेश फिर्ताको सम्बन्धमा छलफल गर्नेछन् ।
बुधबार अध्यादेश जारी भएपछि प्रचण्डले प्रधानमन्त्रीको कदम बिरुद्ध कडा आपत्ती जनाएका थिए । त्यस्तै नेकपाका बहुमत सांसदहरु हस्ताक्षर पत्रसहित शीतलनिवास पुुगेर संसद अधिवेशनको माग गरेका थिए । लगत्तै अध्यक्ष दाहालसहित प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलबिच भएको छलफलमा अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री सहमत भएका थिए ।
सहमतीलगत्तै बसेको स्थायी समिती बैठकले समेत अध्यादेश फिर्ता गराउने र संवैधानिक आयोगहरुमा सहमतीपुर्वक नियुक्त गर्ने सहमती भएको थियो । त्यस्तै अध्यादेश फिर्ता हुने भएको कारण संसद अधिवेशनको निवेदन पनि फिर्ता गर्ने निर्णय पनि बैठकबाट भएको थियो ।
केन्द्रिय समितिले गरेको निर्णयको उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले साझ करिब साढे पाँच बजेका लागि संवैधानिक परिषद् बैठक बोलाएका हुन् ।