९ माघ २०७९, सोमबार। नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ ।
सभापित शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरुको बैठकले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । आफ्ना उम्मेदवारलाई जिताउन अन्य दलसँग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा भने विपक्षी गठबन्धन बनाएको थियो । अब माओवादी केन्द्रसहितका दलको सहयोगमा राष्ट्रपति आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसको छ। राष्ट्रपति निर्वाचन समयमै सम्पन्न गर्न कानुनी अड्चन भए सुल्झाएर अघि बढ्नुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ ।