१५ माघ २०७९, आईतबार। रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् ।
पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई सर्वसम्मत पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पार्टीको सभापति पदसमेत गुमाएका रवि लामिछानेले आइतबार मात्रै नागरिकता पुनः कायम गरेका थिए । नागरिकता पुन: कायम भएसँगै आइतबारै लामिछानेलाई पार्टीले सभापतिको जिम्मेवारी दिएको हो ।
अस्ति (शुक्रबार) सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो । उनी चितवन २ बाट निर्वाचित भएका थिए ।
लामिछानेले आइतबार नागरिकता ऐनको दफा ११ बमोजिम पुन: नागरिकता कायम गराएका छन् ।
उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ । नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम हुने व्यवस्थामा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन: नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन: कायम हुनेछ ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेपछि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।