काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपतिमार्फत संसद विघटन गराएपछि नेपालको राजनीतिमा संकट पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल र अन्य विपक्षी दलहरुले आपत्ती जनाउनु स्वभाविक हो । तर सत्तारुढ दल नेकपाकाे स्थायी कमिटीले प्रधानमन्त्रीको कदमलाई गैरसंवैधानिक र जनभावना विपरित कदम भन्दै कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेकाे छ ।
नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका ७ जना मन्त्रीहरुले आइतबार नै राजीनामा गरिसकेका छन् । नेकपाका बहुमत सांसदहरुले प्रधानमन्त्रीको कदमलाई गलत ठहर गरेपछि त्यसको काउन्टरका लागि प्रधानमन्त्रीले आफूपक्षका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्दै छन् ।
प्रधानमन्त्रीको कदम, सिंगो नेकपाको भविष्य र आगामी कार्यदिशाको विषयमा प्रतिनिधिसभाका निवर्तमान सांसद तथा नेकपा नेता खेम लोहनीसँग मेन समाचारकर्मी विष्णु विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:
एक क्षणमै पूर्वसांसद हुनुभयो । व्यक्तिगत रुपमा कस्तो महसुस हुँदैछ ?
सांसद पद जानु भन्दा पनि देशमा अस्थिरता आयो । यो एकदम दु:खद् कुरा हो ।
प्रधानमन्त्रीको कदमलाई तपाईँले कसरी हेर्नुभएको छ ? उहाँको यो कदम अपेक्षाकृत थियो वा बाध्यात्मक हो ?
दुई तिहाईको सरकारले चलाएको संसद भंग हुनु निकै दु:खद् कुरा छ । यसले देशको राजनीति अनिश्चितता तर्फ धकेल्यो । तर, यो किन आयो ? कसरी आयो र केका लागि आयो भन्ने अर्को महत्वपुर्ण कुरा छ । प्रधानमन्त्रीलाई हटाउन धेरै किसिमका चलखेलहरु भए ।
उहाँलाई काम गर्न नदिने वातावरण आफ्नै पार्टीभित्रबाट भयो । प्रधानमन्त्री ओलीलाई हटाउने र सत्ता कब्जा गर्दै पार्टीकै दोस्रो अध्यक्ष प्रधानमन्त्री बन्ने धृष्टता राख्नुभयो त्यो अझै बिडम्बना छ । यसै कारणले पनि प्रधानमन्त्रीले बाध्य भएर यो कदम चाल्नुभएको हो ।
पार्टी पङ्क्ति नै प्रधानमन्त्रीको कदमविरुद्ध न्याय प्रकृयामा जाने भनिएको छ, संसद ब्यूतने सम्भावना कत्तिको देख्नुहुन्छ ?
संसद विघटन कुनैपनि प्रकृयाबाट रोकिन सक्दैन । प्रधानमन्त्रीले आफूसँग भएको विशेषाधिकारको प्रयोग गर्नुभएको हो । देशलाई कब्जा हुनबाट जोगाउनुभएको हो । क्षणिक रुपमा हेर्दा प्रधानमन्त्रीले गलत गर्नुभएको देखिन्छ तर यसको अन्तरविषयलाई राम्ररी अध्ययन गरियो भने प्रधानमन्त्रीले देशलाई जोगाउनुभयो भन्ने प्रष्ट हुन्छ । त्यसकारण प्रधानमन्त्रीको निर्णयलाई अदालतले बदर गर्छ भन्ने मलाई लाग्दैन ।
पार्टीभित्रको असन्तुष्टिलाई लिएर फेरिपनि जनतालाई सास्ती दिनु जायज हो ? जनभावनाको अपमान भएन ?
प्रधानमन्त्रीको कदमबाट जनतामा नैराश्यता अवश्य बढेको छ । अन्याेल बढेको जायज हो । नेपालको राजनीतिमा यस्तै हो सबै कुरा चाहेको जस्तो मात्रै हुँदैन । राजनीतिभित्र हुने फोहोरी खेल हुन्छ । नहुनी घटना पनि घट्छन् । त्यस्तै भयो हाम्रो पार्टी पनि ।
आफ्नै पार्टीको अध्यक्षले आफ्नै पार्टी कमजोर बनाउन विभिन्न खेल खेले । यसबाट जनता निराश भएका छन् र आगामी दिनमा हामीलाई पनि अवश्य अप्ठ्यारो नै पार्छ ।
तर, हामी अहिलेको बाध्यकारी अवस्थाको बारेमा जनतालाई जानकारी पनि गराउँछौ । यदि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको थिएन भने यो भन्दा ठूलो निराशाको दिन आउन सक्थ्यो । यो भन्दा ठुलो बर्बादीको समय आउन सक्थ्यो । त्यो अवस्थालाई प्रधानमन्त्री ओलीले रोक्नुभएको हो ।
अब नेकपाको भविष्य के हो ?
अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ । पुरानै ढंगले घिटीघिटी गरेर, जालझेल गरेर चल्दैन । अब स्पष्टसँग राम्रा काम गर्नेहरुलाई साथ लिएर अगाडी बढ्नुपर्छ । जालझेल षड्यन्त्र गर्नेहरुलाई छोडेर जनताको पक्षमा काम गर्नेहरुको ठूलो पङ्क्ति बनाएर अगाडी बढ्नुपर्छ ।
पार्टी फुटको अवस्थामा पुगेको हो ?
पार्टी एकता औपचारिक रुपमा जीवित छ । अनौपचारिक रुपमा फुटको अवस्थामा पुगिसकेको छ । घोषणा हुनमात्र बाँकी हो । आफ्नै पार्टीभित्र समस्या उत्पन्न भइसकेको अवस्थामा ठिकै छ भनेर नजरन्दाज गर्न सकिँदैन । औपचारिक रुपमा घोषणा भएको छैन ।
निर्वाचन आयोगमा एउटै पार्टी छ । कसैले घोषणा गरेको पनि छैन तर अनौपचारिक रुपमा प्रष्टसँग विभाजन देखिएकै छ । पार्टी एकीकरण सफल हुन सकेन भनौँ ।
प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाकै कार्यकर्ताहरु सडकमा उत्रिन थाले यसबाट आम जनतामा कस्तो सन्देश जान्छ ?
यस्तो अवस्थामा सबैभन्दा बढी दु:ख पाउने कार्यकर्ताहरुले हो । त्यसैले उहाँहरुलाई हल्लाको भरमा नदौडिन आग्रह गर्दछु । विषयवस्तुको गहिराइमा पुगेर छानबिन गरेर मात्र अगाडी बढ्नु पर्छ भन्ने मेरो आग्रह छ । हामी फेरि पनि पार्टी निर्माण गरेर अगाडी बढ्न सक्छौँ ।
उहाँहरु अहिल्यै हतोत्साहीत् हुनुपर्दैन, भविष्य पुन निर्माण हुनेछ र त्यसका लागि तयार भएर बस्नुहोला ।
वैशाखमा मध्यावधि चुनावको घोषणा भएको छ । तपाईंहरुलाई जनताले फेरिपनि साथ दिन्छन् जस्तो लाग्छ ?
जनताको साथ त हामीलाई भइहाल्छ । हामी जनतालाई प्रष्ट पार्छौं, हामीसँग त्यो हिम्मत छ । हामी जनतामा स्थापित भएका, जनताले पत्याएका र विश्वास गरेको नेताकार्यकर्ताको पङ्क्ती हौँ ।
यो पंङ्क्ती फेरिपनि आवश्यक सुझबुझका साथ जनताको बिचमा जान्छ । तर, हिजोको जस्तै उत्साह जनतामा देखिन्छ भन्न चाहिँ सकिन्न । त्यसमा केही कमी अवश्य आउँछ । तर, हामी बहुमत ल्याउन सक्छौँ । एक्लै गएर पनि सहज रुपमा काम गर्न सक्छौँ जनताले फेरि पनि विश्वास गर्नेछन् ।