काठमाडौं, पुस ६ । इटालियन सिरि एु मा पोर्चुगिज फरवार्ड रफाएल लेआओले कीर्तिमानी गोल गरेका छन्।
आइतबार राति भएको लिगको खेलमा लेआओले खेलको ६ सेकेन्डमै गोल गरेका थिए। यो गोल सिरि ए इतिहासकै सबैभन्दा छिटो हो।
इटालियन लिग लिडर एसी मिलानका फरवार्ड लेआओले सासुओलोविरुद्धको खेलमा कीर्तिमान गोल गरेका हुन्। खेलमा एसी मिलान २-१ गोलले विजयी भयो।
२१ वर्षीय युवा फरवार्ड लेआओले टर्किस मिडफिल्डर हाकान चालहनोगूको पासमा गोल गरेका थिए।
यसअघि सिरि एमा भएको सर्वाधिक छिटो गोल ८.९ सेकेन्डमा भएको थियो। पियेन्जाका पाउलो पोग्गीको नाममा सिरि एको सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान थियो। उनले सन् २००१ डिसेम्बर १ मा फिओरेन्टिनाविरुद्धको खेलमा ८.९ सेकेन्डमा गोल गरेका थियो।
आइतबार लेआओले गरेको गोल इंग्लिस प्रिमियर लिगको कीर्तिमानी गोलभन्दा पनि छिटो हो।
प्रिमियर लिगको सर्वाधिक छिटो गोलको रेकर्ड साउथह्याम्टनका सेन लङ्गको नाममा छ। उनले २०१९ अप्रिल २३ मा वाटफोर्डविरुद्ध ७.६९ सेकेन्डमा गोल गरेका थिए।
आइतबार लेआओले सुरुवाती अग्रता दिलाएको खेलमा जित हात पारेसँगै एसी मिलानले अंक तालिकामा १ अंकको अग्रता लिएको छ।
शीर्ष स्थानको एसी मिलानको १३ खेलबाट ३१ अंक छ। दोस्रो स्थानको इन्टर मिलानले समान खेलबाट ३० अंक जोडेको छ। साविक विजेता युभेन्ट्स २७ अंक जोडेर तेस्रो स्थानमा छ।