काठमाडौँ । नेपाली काँग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । सोमबार साँझ काँग्रेस केन्द्रीय कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबिचको बैठक केहीबेरअघि सकिएको हो ।
तीन दलको छलफलबाट तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर प्रतिवादको कार्यक्रममा पुग्ने सहमती भएको छ ।
बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए । नेकपाका बरिष्ठ नेता माधव नेपाल भने बैठक नसकिँदै बाहिरिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्रका प्रचण्ड–नेपाल पक्षले विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्रीको कदमविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ । संसद विघटन नभएको भन्दै नेकपाका बहुमत संसदहरुले संसदको कामकारवाही अगाडी बढाउनुपर्ने बताइसकेका छन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्वोधन गर्दै आगामी वैशाखमा हुने निर्वाचनको लागि तयारी रहनका लागि अनुरोध गरिसकेका छन् ।