काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल पनि आफ्नो पक्षमा रहेको बताएका छन् ।
मंगलाबार बबरमहलस्थित कार्की ब्यांकेटमा भएको केन्द्रीय समिति भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुसँग ६५ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेको कारण बालुवाटारको भेला वैधानिक नभएको समेत बताएका छन् ।
‘हामीसँग ६५ प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ ’ त्यसैले लोकतान्त्रिक पद्धतीअनुसार वैधानिक हाम्रो हुन्छ उहाँहरुको होइन’ अध्यक्ष दाहालले भने । प्रचण्डले उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका स्थायी समिती सदस्य राम बहादुर थापा बादलले पनि आफुहरुलाई नै समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘उहाँहरु दुबै जना हामी संगै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरु भोलीदेखि नै छलफलमा उपस्थित हुनुहुनेछ ।’