काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको आधिकारिक प्रवक्ता भएको दाबी गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो ।
आजै दिउँसोबाट बबरमहलमा छुट्टै बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा श्रेष्ठले भने, ‘म कुनै तथाकथित गुटको प्रवक्ता होइन । म पार्टीको प्रवक्ता हुँ । आजको बैठकले मलाई झनै उत्साही भएर काम गर्न उर्जा दिएको छ ।’
ओली समूहको बैठकले नारायणकाजी श्रेष्ठले पार्टीको लाइन विपरित व्यक्तिगत धारणा सार्वजनिक गर्दै हिँडेको भन्दै उनलाई हटाएको जनाएको थियो । उनको सट्टा परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।