काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी समिति सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ ।
राजनीतिक रुपमा नेकपा विभाजन भइसकेको अवस्थामा गृहमन्त्री बादलले भने आफु कुन पक्षमा जाने भन्ने कुराको निर्णय गरेका छैनन् । उनको भुमिका हालसम्म तटस्थ नै रहेको छ । पूर्व माओवादी पृष्ठभुमिका बादलसँग प्रचण्डले यसअघि नै पटकपटक सहयोग मागिसकेका छन् ।
मंगलबार प्रचण्ड–नेपाल पक्षबाट पटकपटक आग्रह गरिएको भएतापनी बादल छलफलमा गएनन् । प्रचण्ड आफै गएर अनुरोध गर्दापनि बादल बैठकमा गएका थिएनन् । उनि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका थिए ।
नेकपा प्रचण्ड–नेपाल र ओलीले दुई समुह बनाइसकेतापनी उपाध्यक्ष वामदेव गौतम र स्थायी समिति सदस्य राम बहादुर थापा बादल भने कुनैपनि समुहमा लागेका छैनन् । प्रचण्ड पक्षका सबै मन्त्रीहरुले राजिनामा गर्दैगर्दा गृहमन्त्रीले राजिनामा नगर्नुले उनि ओलीकै पक्षमा रहेको संकेत दिएको थियो । तर, ओलीपक्षको कुनैपनि बैठकमा उपस्थित नभएर बादलले आफुलाई तटस्थ रहेको पुष्टि गरेका हुन् ।
बुधबार प्रधानमन्त्रीसँग केके छलफल भयो भन्नेबारे भने खुलाइएको छैन ।