काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा बादलले अन्ततः ओली समूहलाई नै समर्थन गरेका छन् । पार्टीमा दुई समूहले छुट्टाछुट्टै बैठक संचालन गर्न थालेपनि तटस्थ देखिएका गृहमन्त्री बादल बिहीवार भने बालुवाटार बैठकमा उपस्थित भएका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेपछि गृहमन्त्री बादल ओली समूहमा आउन राजि भएका हुन् । उनलाई प्रधानमन्त्री ओलीले पार्टीभित्र निकै उच्च पदको अफर गरेपछि गृहमन्त्री बादल उनितर्फ नै लागेको स्रोतले बताएको छ ।
यसअघि कार्यकारी अध्यक्ष रहेका प्रचण्डले आफ्नो समूहमा आउनका लागि आग्रह गर्दै पुल्चोकको मन्त्री क्वार्टरमै पुगेर बादलसँग छलफल गरेका थिए । उनिमात्र नभई वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाल र स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठसमेतल पुल्चोक पुगेर बादललाई आग्रह गरेका थिए ।
गृहमन्त्री बादल तात्कालिन नेकपा माओवादी फुटेपछि प्रचण्डलाई छोडेर मोहन वैद्य समूहमा लागेका थिए । पछि माओवादी केन्द्र र एमालेको एकिकरणबाट नेकपा बनेपछि पुनः प्रचण्डतिर नै फर्किएका थिए । तर, नेकपामा पनि विभाजन देखिन थालेपछि उनि ओली समूहतर्फ लागेका हुन् । उनिसहित पुर्वमाओवादी पृष्ठभुमीका मणी थापा र लेखराज भट्ट पनि ओलीसमूहमा देखिएका छन् ।