काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समुहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
राजधानीको थापाथलीस्थित कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ भने बालुवाटारमा प्रधानमन्त्री ओली समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
प्रचण्ड–माधव पक्षको बैठकमा संसद विघटनविरुद्ध संघर्षमा जाने विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कमिटीअघि बसेको स्थायी समिति बैठकले शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको थियो भने महासचिवको विषयमा पनि छलफल चलाएको थियो ।
त्यस्तै बालुवाटारमा बसेको ओली समूहको बैठकमा चार दिनपछि बैठकमा उपस्थित भएका गृहमन्त्री राम बहादुर थापालाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ । राजनैतिक रुपमा दुई भागमा विभाजन भएको चार दिनपछि मात्र गृहमन्त्री राम बहादुर थापाले आफु ओलीतिरै रहेको संकेत दिएका हुन् ।
यता, विभाजनको शुरुवातदेखि ओली समूहमा रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ भने प्रचण्ड–माधव समूहको बैठकमा उपस्थित भएका छन् ।