काठमाडौँ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भइसकेको छ । संसद विघटन भएपछि नेकपा भित्र चर्को विरोध उत्पन्न हुँदै पार्टी विभाजनसम्म आइपुगिसकेको छ ।
यतिबेला पार्टी दुई खेमामा विभाजन छन् । प्रधानमन्त्रीको हैसियतमा रहेका केपी शर्मा ओलीको आफ्नै समूह छ भने अर्कातिर यसअघि कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल र वरिष्ठ नेता रहेका माधव कुमार नेपाल गठवन्धित अर्को समूह छ ।
एकिकृत भएको नेकपाका १४ मध्य ९ सचिवालय सदस्य प्रचण्ड–माधव समूहमा छन् भने ओली समूहमा ५ जना मात्र रहेका छन् ।पार्टी दुई समूहमा विभाजन भएपछि दुबै पक्षले आफुलाई बलियो बनाउनका लागि नेता कार्यकर्ताहरुलाई आफ्नो पक्षमा ल्याउने कोशिष जारि नै राखेका छन् ।
तात्कालिन माओवादी केन्द्रबाट प्रचण्डको नेतृत्वमा एकिकरणमा आएका केही नेताहरुले अहिले प्रचण्डको साथ छोडेका छन् । प्रचण्डकै सिफारिसमा सचिवालय सदस्य र गृहमन्त्री समेत बनेका राम बहादुर थापा बादलले पनि बिहीवार प्रचण्डको साथ छोडेर ओली समूहतिर लागेका छन् ।
बादलमात्र होइनन् तात्कालिन माओवादी पृष्ठभुमिबाट आएका नेताहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी मणि थापा र हरिबोल गजुरेलले पनि यतिबेला प्रचण्ड छोडेर ओली समूहमा लागेका छन् ।
कसले के पाए ?
प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्र चर्को विग्रह निम्तिएको थियो । पार्टीका कार्यकारी अध्यक्ष रहेका प्रचण्डले विकल्प रहँदा रहँदै संसद विघटन जस्तो असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्रीको निर्णयप्रति कडा आपत्ती जनाए ।
पार्टीभित्रका अन्य शीर्ष नेताहरुले पनि सार्वजनिक रुपमै प्रधानमन्त्रीको विरोध गर्न थालेपछि शुरु भएको हो नेकपा विभाजन । त्रिपक्षीय शक्ति संघर्षमा रहेको नेकपा संसद विघटनपश्चात दुई समुहमा विभाजित भयो । दुई समूहमा विभाजित भएपछि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल तटस्थ बसे ।
मंसिर ५ गतेदेखि ८ गते साँझसम्म कुनै पक्षको भेलामा नगएका बादल बिहीवार ओली समूहको बैठकमा गए । बैठकमा पुगेर उनले प्रधानमन्त्री ओलीको कदम लोकतान्त्रिक र अग्रगामी रहेको समेत बताए ।
४ दिनसम्म नगएका गृहमन्त्री बादल ओली समूहका उपाध्यक्ष अथवा दोस्रो वरियताको अध्यक्ष बन्ने भएपछि ओलीको समर्थनमा बालुवाटार पुगेको बताइन्छ । प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बुधबार बालुवाटारमा दुई घण्टाभन्दा बढी छलफल भएको थियो । सोही छलफलपश्चात बिहीवार उनि बालुवाटारको केन्द्रीय समिति बैठकमा पुगेका थिए ।
ओली समूहको केन्द्रीय समिति बैठकले बादललाई उपाध्यक्षको बनाउने विषयमा छलफल नगरेको भएतापनी रुपमा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक तयारी गरेका थिए । नेकपाका उपाध्यक्ष रहेक वामदेव गौतमले अझैपनि कित्ता नछुट्याएको कारण बादललाई कुन पद दिने भने विषयमा छलफल हुन नसकेको बताइन्छ ।
बाँकी नेताहरुको जिम्मेवारी भने करिब करिब टुंगो लागिसकेको छ । ओली क्याविनेटमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रहेका लेखराज भट्टलाई बिहीवारको केन्द्रीय कमिटी बैठकले सुदुरपश्चिम प्रदेशको इन्चार्जको रुपमा चयन गरेको छ ।
त्यस्तै मणि थापालाई कर्णाली प्रदेशको प्रदेश इन्चार्ज तोकिएको छ भने टोप बहादुर रायमाझीलाई जनवर्गीय संगठनको संयोजक तोकिएको छ । नेता हरिबोल गजुरेलको विषयमा भने हालसम्म कुनै जिम्मेवारी तोकिएको छैन । ओलीकै समूहमा आएका केन्द्रीय सदस्य शेरबहादुर तामाङ पुनः प्रचण्ड समूहमा फर्किसकेको छ । उनकी पत्नी उषाकला राईलाई ओली समूहको केन्द्रीय सदस्य चयन गरिएको थियो । तर, राईले उक्त जिम्मेवारी अस्वीकार गरि आफु प्रचण्डपक्षमा रहेको संकेत दिएकी थिईन् ।