काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगको कार्यलयसम्म जानको लागि प्रहरीले अवरोध गरेको छ ।
उक्त समूहको अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित शीर्ष नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितको टोली माइतीघरबाट निर्वाचन आयोगसम्म पुगेका थिए । तर, निर्वाचन आयोगमा भने सचिवालय सदस्य रहेका शीर्ष नेताबाहेकका अन्यलाई भने प्रवेश दिइएको छैन ।
निर्वाचन आयोगको कार्यलय रहेको कान्तिपथ सडकको केही अगाडीबाट प्रहरीले निषेधित क्षेत्र तोकेको छ । त्यहाँ केन्द्रीय सदस्यहरले आन्दोलन गरिरहेका छन् । उनिहरुले प्रहरीसँग आफुहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरेका छन् । तर, प्रहरीले माथिको आदेश भन्दै उनिहरुलाई त्यहीँ रोकेका छन् ।
पार्टीले गरेको निर्णयलाई वैधानिकता दिनका लागि भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने निर्वाचन आयोगको प्रावधानअनुसार नै आफुहरु कार्यलयमा उपस्थित हुनुपर्ने माग राख्दै केन्द्रीय सदस्यहरुले नाराबाजी शुरु गरेका छन् । निषेधित क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने पानीको फोहोरा पनि तयारी अवस्थामा राखिएको छ ।