काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज बन्ने जंगे बाटोमा हिँडेको आरोप लगाएका छन् । जनसांस्कृतिक महासंघ नेपालले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले सामन्ती शासकको व्यवहार देखाएको बताएका हुन् ।
अध्यक्ष दाहालले आफुहरुलाई न्यायलयले न्याय दिने दाबी समेत गरेका छन् । ‘मलाई विश्वास छ, अदालतले संसद सुचारु गर्न आदेश दिने छ’ उनले भने, अदालतले यति सामान्य कुरा पनि बुझ्दैन भने अदालतको सम्मानप्रति अपमान हुन्छ ।’
दाहालले संसद विघटन नभएको समेत दाबी गरेका छन् । उनले संसद जिउँदै रहेको तर केपी ओली नेतृत्वको सरकार विघटित भएको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनामाथि निर्मम र क्रुर ढङ्गले प्रहार गरेको प्रचण्डको दाबी छ। ‘नेपाली जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त भएको सार्वभौम अधिकारमाथि प्रहार भएको छ,’ उनले भने,‘पौने तीन करोड जनताको भावनामाथि निर्मम ढङ्गले प्रहार भएको छ।’
असंवैधानिक कमद चालेर प्रधानमन्त्री ओलीले कलङ्कको टीका लगाएको प्रचण्डको आरोप छ। ‘ओली पराजित हुनुभयो। हाम्रो विजयको अभियान सुरु भयो,’ उनले भने,‘ओलीले कलङ्को टीका लगाए। हामीहरु संविधान, जनता र लोकतन्त्रको पक्षमा छौं।’