काठमाडौँ । सर्लाहीबाट आन्दोलन गर्न काठमाडौँ आइपुगेका ६५ बर्षीय उखु किसानको हृदयघातका कारण मृत्यु भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार विहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार बिहान हृदयघात भएका यादवलाई उपचारको लागि चाबाहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्याइएको थियो । अस्पतालले गंगालाल हृदय रोग केन्द्रमा रिफर गरेको थियो । त्यहाँ पुर्याइएको २ घण्टामा यादवको मृत्यु भएको हो ।
उनि सरकारसँग सम्झौत गर्न नहुने पक्षमा थिए । अघिल्लो बर्षको सम्झौता पनि कार्यन्वयन नभएको कारण यस बर्ष किसानहरु पैसा लिएर मात्रै घर फर्कने योजनामा थिए । तर, सोमबार सरकार र किसानबीच १५ दिन भित्र बक्यौता रकम उपलब्ध गराउने सहमती भएको थियो । यादवले उक्त सम्झौतामा असहमती जनाएका थिए ।
सर्लाहीमा उखु किसान गर्दै आएका यादवले अन्नपूर्ण चिनि मिलसँग २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी रहेको बताइएको छ । त्यस्तै उनको बैँकमा १८ लाख ऋण रहेको समेत बताइएको छ । सरकारसँग सम्झौता मात्र भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र हृदयघात भएको बताइएको छ ।