काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहीको संज्ञा दिएका छन् । राजधानीको भृकुटीमण्डपमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै नेता खनालले बालुवाटारमा बसेका समूह कुनै पार्टी नभई एक गूटमात्र रहेको बताएका छन् । ‘बालुवाटारमा बस्ने एक तानाशाही गूटमात्र हुन्, जनता, पार्टीविरोधी र जनविरोधी समूह मात्र हुन्’ नेता खनालले भने ।
उनले नेपाल कम्युनिस्ट पार्टी आफुहरु नै रहेको समेत बताएका छन् । संसद विघटन जस्तो असंवैधानिक कदम उठाएर केपी शर्मा ओलीले पार्टी र जनताको विरुद्धमा कदम चालेको भन्दै अब नेकपामा ओलीको औचित्य समाप्त भएको बताएका छन् ।
तीनबर्षको विजयी भएको नेकपा ओलीको नभएको उनले दाबी गरे । तात्कालिन समयमा जनताले केपी ओलीलाई भोट गरेको नभई नेकपालाई भोट गरेको र सो नेकपा आफुहरुको समूह रहेको उनले बताए । ‘जनताले केपी ओलीलाई भोट दिएको होइन, नेकपाको नीति कार्यक्रमलाई जनताले मन पराएर भोट दिएका हुन्’ उनले भने ।
जनताको मतबाट बालुवाटार पुगेका ओलीले बालुवाटार पुगेपछि सबै कुरा बिर्सिसकेको बताएका छन् । उनले ओलीको प्रतिगमनविरुद्ध नाराबाजी शूरु भएको उद्घोष गरे । आजको आन्दोलनले उपत्यकाको आकाश गर्जमान भएको खनालले बताए ।