१८ बैशाख २०८०, सोमबार । नेपाल र यूएईबीचको फाइनल खेल वर्षाले फेरि रोकिएको छ ।
कीर्तिपुरस्थित टीयु मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल २७ ओभर ३ बलमा रोकिएको हो ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको यूएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।
पौने १२ बजे पानी परेपछि दोस्रो पटक खेल रोकिएको हो । खेल रोकिएसँगै मैदानलाई छोपिएको छ । झरी भइरहे पनि ठूलो संख्यामा उपस्थित दर्शकहरु भने छाता ओढेर खेल पुनः सुरु हुने पर्खाइमा छन् । कीर्तिपुर मैदान आज खचाखच भरिएको छ ।
नेपाली बलर हाबी हुँदा यूएईको ब्याटिङ लाइन सुरुवातमै धरासायी बनेको थियो । सुरुदेखि नै दबाबमा परेको यूएईका ब्याटरले खुलेर खेल्न सकेनन् ।
यूएईका आसिफ खानले इनिङस सम्हाल्न संघर्ष गर्दै सर्वाधिक ४६ रन बनाए । ५४ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । उनले बसिल हमिदसँग सबैभन्दा धेरै ३९ रनको साझेदारी गरे । बसिलले भने १० रनमात्रै जोड्न सके । ओपनर मोहम्मद वासिम ११ रनमा क्याचआउट हुँदा आर्यान लाक्रा पनि १३ रनमै पभेलियन फर्किए । नेपाली बलरको कसिलो बलिङका कारण ध्वस्त भएको यूएईका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले २–२ विकेट झारे । सोमपाल कामी र गुल्सन झाको खातामा समान १–१ विकेट रह्यो ।