काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ हटाउने काम कुलमानले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।
बिहीवार प्युठानमा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुलमानले एक व्यवस्थापकको जिम्मेवारी मात्र निभाएका बताएका हुन् ।
उनले कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेर कुशल व्यवस्थापकको भुमिका खेलेकोमा भने सहमती जनाएका छन् । ‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’
उनले २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । त्यसकारण लोडसेडिङ हट्नुमा कुलमान नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुपर्ने बताएका छन् ।