काठमाडौँ । टेकुमा निर्माणधिन पुलमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अनियमितताको उजुरीमा अनुसन्धान गरेपछि अख्तियारले पप्पु कन्सट्रक्सनका अध्यक्ष रहेका सुमित रौनियार लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
अख्तियारले रौनियार सहित तात्कालिन दिगो शहरी यातायात आयोजनका निमित्त प्रमुख बेल बहादुर नेपाली, तत्कालीन लेखा अधिकृत नारायण बहादुर थापा, तत्कालीन लेखापाल गिरी प्रसाद श्रेष्ठ र तत्कालीन लेखा अधिकृत श्याम बहादुर खत्री विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
टेकुको पुल चिनियाँ कम्पनी झोङ्दिङ इन्टरनेशल इन्जिनियरिङ कम्पनीसँगको जेभीमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर, स्वीकृत डिजाइन तथा स्पेशिफिकेशन बमोजिम निर्माण नगरेकोबारे आयोगले अनुसन्धान गरेको थियो ।
आरोपीहरु उपर १ करोड १४ लाख ७६ हजार बिगो मागदावी गरिएको छ । अख्तियारले छानविन थालेपछि टेकुमा निर्माणाधिन सो पुल अलपत्र छ ।