पोखरा । नेपाली सेनाका पश्चिम पृतनापति जर्नेल विनय राणाले नेपाली सेना सँधै जनताकै साथमा रहेको बताएका छन् । पश्चिम पृतनाले गरेको पत्रकार सम्मेलनमा बोल्दै जर्नेल राणाले आम जनताले सेनाको बारेमा फरक तरिकाले सोच्ने भएतापनी नेपाली सेना सँधै जनतामै रहेको बताएका हुन् ।
जर्नेल राणाले नेपाली सेना अन्तर्गत पश्चिम पृतनाले बर्षभरि गरेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका नवलपुरबाहेक अन्य १० जिल्ला कार्यक्षेत्र रहेको पश्चिम पृतनाले बिकास निर्माण सँगै विपद् व्यवस्थापनमा पनि उल्लेख्य भुमिका निभाएको जानकारी गराए ।
पछिल्लो समय देश कोरोनाभाइरसले आक्रान्त बनिरहँदा नेपाली सेनाले फ्रन्टलाईनमा बसेर काम गरेको बताए । कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा पनि नेपाली सेना अग्रसर भएको राणाले बताए । कोरोनाको समयमा अन्य क्षेत्रमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएकोमा नेपाली सेनाले भने अतिरिक्त भत्ता बिना नै इमान्दारीपुर्वक काम गरेको उनले बताए ।
पृतनापति राणाले नेपाली सेनाबाट निवृत्त हुन लागेका कर्मचारीहरुलाई सिपमूलक तालिमको व्यवस्था पनि गरेको बताएका छन् । त्यस्तै भूपु सेनाहरुको छलफल पनि चाँडै नै गर्ने बताएका छन् ।