१० जेष्ठ २०८०, बुधबार । आयोजक अर्जेन्टिना फिफा यू-२० विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार दोस्रो जित दर्ता गरेपछि अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाएको हो ।
सान्तियागो डेल एस्टेर्गोमा भएको खेलमा घरेलु टोलीले आफ्नो दोस्रो खेलमा ग्वाटेमालालाई ३-० गोलले हरायो । फर्वाड एलेजो भेलिजले १७ औँ मिनेटमा हेडरमार्फत गोल गरेर अर्जेन्टिनाको खाता खोले ।
५७ औँ मिनेटमा कार्लोस युलियान सान्तोस भार्गास लगातार दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिरिएपछि ग्वाटेमाला १० खेलाडीमा सीमित भयो।
कीर्तिमानी ६ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि लुका रोमेरोले लङ रेन्जर प्रहारमा ६५ औँ मिनेटमा गोल थपे । ८२ औँ मिनेटमा अर्जेन्टिनाले पनि रातो कार्डका कारण एक खेलाडी गुमायो । थोमस अभिलेसले एडी प्यालेन्सीलाई फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यसका बाबजुद इन्जुरी समयमा म्यानचेस्टर सिटीका मिडफिल्डर म्याक्सीमो पेरोनेले गोल गर्दै टिमको जित सुनिश्चित बनाए ।
यो जितपछि समूह चरणको एक खेल बाँकी हुँदै अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ। यो समूहमा एक अंक पनि नगुमाउने टोली अर्जेन्टिना मात्रै हो ।