पाेखरा, ७ भदाै । कास्कीमा जारी ५ दिने निषेधाज्ञा आइतबार राति १२ बजेदेखि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालय कास्कीले पुनः ५ दिन थप गरेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले ५ दिनका लागि थप निषेधाज्ञा कायम राख्ने निर्णय गरेको सहायक सिडिओ तथा सूचना अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।
थपिएको निषेधाज्ञा अवधिमा भने बैंक र निर्माण सामग्री (हार्डवेयर) पसल सञ्चालनमा केही सहजता बनाइने भएको छ । बैंक तथा वित्तीय संस्थामा सीमित शाखा खोल्न र हार्डवेयर निश्चित सयममा मात्र सञ्चालन गर्न भनिएको छ ।
साँझ ५ बजेदेखि ७ बजेसम्म हार्डवेयर सञ्चालन गर्न प्रशासनको निर्देशन छ । अन्य मापदण्ड भने यसअघिकै कायम हुने प्रशासनले जनाएको छ ।
अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा प्रशासनले रोक लगाउँदै आएको छ । खाद्यान्न, तरकारी, फलफूल पसल पनि दिनको ५ घन्टामात्रै खोल्न पाइने छ । बिहान ५ बजेदखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने नियम ।
औषधि पसल लगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई पनि रोकतोक छैन ।
पोखरा महानगरपालिकाले जिल्लालाई कम्तीमा पुनः ५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । यसअघिको निषेधाज्ञामा पनि महानगरले नै सिफारिस गरेको हो ।
पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।