काठमाडौँ । संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि कार्यक्रम दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।
प्रचण्ड–माधव समूहले यसअघि पुष १४ गते संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरेको थियो । सोही दिनको बृहत जनप्रदर्शनपछिको सभामा बोल्दै अध्यक्ष प्रचण्डले दोस्रो चरणमा अझ सशक्त आन्दोलन गर्ने बताएका थिए ।
भोलीपल्ट नै आन्दोलनको जानकारी दिनका लागि पक्रकार सम्मेलन गर्ने बताएको भएतापनी संयुक्त आन्दोलनका लागि अन्य दलसँग छलफलको लागि स्थगित गरिएको थियो ।
आज आन्दोलनको कार्यक्रमहरु तय गर्नका लागि केहीबेर पछि पार्टीका शीर्ष नेताहरुबीच छलफल हुने छ । सोही छलफलमा आन्दोलनको स्वरुपबारे निर्णय गरिने र पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताइएको छ ।
प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।