काठमाडौँ । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहनुभएका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको वैचारिक नेताको परिचय रहेको नेकपाका कार्यकर्ता नै बताउँछन् ।
नेकपामा उपल्लो तहमा विभाजन देखिएपछि आम नेता, कार्यकर्ता एक–अर्को समूहमा प्रवेश गर्ने क्रम देखिएको छ । पुस पहिलो साताको अन्त्यमा दुईतिर केन्द्रीय समितिको बैठक भएपछि दुई समूहमा देखिएको नेकपाभित्र त्यसयताका दिनमा महोत्तरीमा समूह फेर्ने क्रम ह्वात्तै बढेको हो । पहिलोपटक पुस ७ गते दुईतिर केन्द्रीय समितिको बैठक हुँदा प्रचण्ड–माधवतिर रहेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले पनि चार दिन पहिले मात्र (गत शनिबार) आपूm प्रधानमन्त्री ओलीसँग रहने घोषणा गरे । “धेरै कुरा स्पष्ट भएको थिएन, बुझ्दै जाँदा विभाजनको बीउ त प्रचण्ड–माधवले पो रोप्नुभएको रहेछ”, बलम्पाकीले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “मैले अब प्रधानमन्त्री ओलीको साथ रहने फैसला गरेँ, मजस्ता धेरै साथीले विस्तारै यो कुरा बुझेर आपूmलाई सच्याउँदै हुनुहुन्छ ।” बलम्पाकीजस्तै समूह फेर्नेमा अहिले दुवैतर्फ देखिएका छन् ।
विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिकी विसं २०६४ मा संविधानसभा सदस्यसमेत रहेकी जिल्लाकै पार्टी नेत्री बुधनीदेवी महतो पनि अहिले प्रधानमन्त्री ओलीको पक्षमा उभिएकी छिन् । “प्रचण्ड र ओली एकीकरणपूर्व आ–आफ्नो दलको अध्यक्षको हैसियतमा एकीकृत नेकपाको अध्यक्ष बन्नुभएको हो”, महतोले भने, “महाधिवेशन आयोजनको निधो भएको थियो, सबै छिनोफानोका लागि महाधिवेशनमा जान छाडेर प्रचण्ड–माधवले हठात पदका लागि अन्तरिम विधान र अन्तरिम समितिलाई बहुमत÷अल्पमतको खेलमा गिजोल्नुभयो, यो बेठिक भयो ।” यस परिस्थितिमा पार्टी एकताका लागि आपूm प्रधानमन्त्रीका साथ उभिएको महतोको भनाइ छ ।
यसअघि तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बन्दा पूर्वमाओवादी केन्द्रतर्फबाट प्रदेश–२ समितिमा रहेका रामआधार कापरले पनि भर्खरै आपूm प्रधानमन्त्रीको पक्षमा उभिएको स्पष्ट पारेका छन् । विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिबाटै आउनुभएका बर्दिवास नगरपालिका–७ का वडाअध्यक्ष फाल्गुण सुसलिङ, यसै पृष्ठभूमिका भङ्गाहा नगरपालिकाका पुराना वामपन्थी नेता मुकुन्द दाहाल र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका प्रत्यासी जिल्लाकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका बासिन्दा राजकिशोर यादवले पनि आफूलाई प्रधानमन्त्री ओलीकै साथ उभिएको अहिले स्पष्ट पारेका छन् ।
यता विगतमा एमाले पृष्ठभूमिका बर्दिवास–४ का बासिन्दा सोम कार्की भने अहिले प्रचण्ड–माधव समूहमा उभिएका छन् । जुनसुकै परिस्थितिमा आफ्नो दलको बहुमत रहेको संसद् प्रधानमन्त्रीले विघटन गरेको चित्त नबुझेपछि आपूm प्रचण्ड–माधवका साथ उभिएको कार्की बताउँछन् । विगतमा एमाले पृष्ठभूमिकै र २०६४ यताका केही दिन त्यतिखेरको सद्भावना पार्टीमा पुगेर फेरि पूर्व घर फर्किएका भङ्गाहाका अरुणकुमार सिंह पनि अहिले प्रचण्ड–माधव समूहमै देखिएका छन् । यसैगरी पूर्वएमाले पृष्ठभूमिका बर्दिवास–६ का लेखराज पोखरेल पनि अहिले प्रचण्ड–माधव समूहमा उभिएका छन् ।
जिल्लामा सर्सती हेर्दा अहिले विगत पृष्ठभूमिका आधारमा पूर्वएमालेतर्फका प्रधानमन्त्री ओलीका पक्षमा र पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका प्रचण्ड–माधवतर्फ देखिएका छन् । माथि समूह फेर्नेमा उल्लेख गरेका नेता भने विगतको पृष्ठभूमि अहिलेको राजनीति छान्ने आधार नहुने बताउँछन् । “हामी पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र होइन, अहिले नेकपाका कार्यकर्ता हौँ”, भङ्गाहा–६ हतिसर्वाका राजकिशोर यादवले भने, “अहिले नेकपाकै कार्यकर्ताको हैसियतमा पार्टीभित्र बढेको समस्याभित्र सोअनुरुप धारणा बन्ने गरेको हो ।” यस क्रममा पूर्वएमाले पृष्ठभूमिका कतिपय साथी अहिले प्रचण्डका पक्षमा र पूर्वमाओवादी केन्द्र पक्षका साथी प्रधानमन्त्री ओलीका पक्षमा उभिएका यादवले स्पष्ट पारे । उपल्लो तहका नेताले सघन गतिविधि ठाउँठाउँमा बढाउँदै गर्दा पार्टीभित्रको समीकरण दिनदिनै परिवर्तन गर्ने पनि बढ्दै गएका देखिएका पार्टी निकटकै नेता कार्यकर्ता बताउँछन् । रासस