धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र जनताको काम नगर्ने हरुलाई स्थानीय तहबाटै माथि जान नदिन आग्रह गरेका छन् । धनगढीमा आयोजित आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको काम नगर्ने तत्वहरुलाई चुनावको माध्यमबाट परास्त गर्नुपर्ने बताएका छन् ।
उनले खराब तत्वहरु नेतृत्वमा पुगेको खण्डमा निकै दुख दिने बताएका छन् । ‘खराब तत्वहरलाई गाउँमै ठेगान लगाएर पठाउनुस्, माथि पुगे भने दुख दिन्छन, हैरान पार्छन’ उनले भने ‘तपाईँहरुलाई हात जोडेर भन्छु, भ्रष्ट, देशद्रोही र विदेशी इशारामा चल्ने तत्वहरुलाई ठेगान लगाउनका लागि केही गर्न पर्दैन एक भोट नहालिदिए हुन्छ ।’
उनले देशका लागि लड्ने, देशका लागि ज्यान दिन तयार रहने, जनताको लागि काम गर्ने र विकासका लागि मरिमेट्ने व्यक्तिलाई मात्र भोट दिनका लागि आग्रह गरे । आफुले हस्ताक्षर गरेर निर्वाचनमा पठाएको जिम्मेवारी आफुले लिने समेत उनले बताए । ‘मैले हस्ताक्षर गरेको उम्मेदवारलाई निर्वाचित गर्नुस, देश विकासको जिम्मेवारी म लिन्छु’ उनले भने ।
प्रधानमन्त्री अोलीले आगामी वैशाखमा चुनाव हुने कुरामा कुनै शंका नरहेको समेत बताएका छन् । आफु ६४ प्रतिशत सांसदको नेतृत्व गरेर प्रधानमन्त्री भएको बताउँदै उनले बाँकी ३८ प्रतिशतबाट संसद पुनःस्थापना हुन नसक्ने बताए । आफुले संविधानतः संसद विघटन गरेको उनले बताए ।
चौतर्फी रुपमा घेराबन्दीमा पारेर काम गर्न नदिएको कारणले नै आफु ताजा जनादेशमा जान चाहेको प्रधानमन्त्रीले बताए । ‘घोषणा गरिएको मितिमै चुनाव हुन्छ, त्यसमा कुनै शंका हुँदैन’ उनले भने,‘चुनावको तयारी गर्नुस् ।’