एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा रहेको वायर्न म्युनिख पराजित भएको छ । शुक्रबार राति मन्छेनग्लाडबाखविरुद्धको खेलमा वायर्न ३–२ गोलले पराजित भएको हो ।
खेलको शुरुवातमा लिएको अग्रता कायम गर्न नसक्दा वायर्न पराजित भएको हो ।
खेलको २० औँ मिनेटमा नै वायर्नका लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए । त्यस्तै २६ औँ मिनेटमा लियोन गार्टैज्काले गोल गर्दै वायर्नलाई २–० को अग्रता दिलाएका थिए ।
तर, दबावमा खेलिरहेको घरेलु टोलीका जोनास होफम्यानले ३६ औँ मिनेटमा जवाफी गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को स्थितिमा ल्याएका थिए । त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा जोनासले नै थप एक गोल गर्दै बराबरीको अवस्थामा ल्याएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरियन नेउहुसले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–२ को जित दिलाए ।
जितसँगै मन्छेनग्लाडबाखले १५ खेलमा २४ अंक जोडेको छ । मन्छेनग्लाडबाख सातौं स्थानमा रहेको छ ।
बायर्नले १५ खेलमा ३३ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।