काठमाडौँ । लण्डनमा नेपाली कलाकार बद्री केसीले आत्महत्या गरेका छन् । केही बर्षदेखि लण्डन बस्दै आएका गायक केसीले शुक्रबारदेखि हराइरहेको र शनिबार बिहान झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ।